आईपीएल स्थगित भएपछि के भन्छन् सर्वाधिक महँगा मोरिस?

काठमाडौं-  खेलाडी तथा टिम स्टाफलाई कोरोना पुष्टि भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल २०२१ अनिश्चितकालका लागि स्थगित गरेको छ ।

आईपीएल स्थगितपछि खेलाडीहरू घर फर्किने तयारी गरिरहेका छन् ।

यसैबीच, घर फर्किनुअघि राजस्थान रोयल्सबाट आईपीएल खेल्ने दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसले आफ्नो प्रतिक्रिया दिएका छन् ।

‘आईपीएल स्थगित हुँदा निराश छु । यद्यपि सबैभन्दा पहिला मानिसको ज्यान जोगिनु ठूलो कुरा हो । एक हिसाबमा स्थगित गर्नु सही फैसला हो,’ मोरिसले भनेका छन्, ‘अहिले सबैको ध्यान कोरोनाबाट जोगिनु छ । यो समय कोरोनाबाट जोगिनु सबैभन्दा महत्वपूर्ण कुरा हो ।’

मेरिसले कोरोना संक्रमण नियन्त्रणलगत्तै आईपीएलका बाँकी म्याच हुनेमा विश्वास राखेका छन् । ‘कोरोना नियन्त्रणपछि फेरि आईपीएल सुरू हुनेमा विश्वस्त छौँ । जति सकिन्छ अहिले सबै घरमै बसौँ,’ उनले भने ।

मोरिस आईपीएल इतिहासकै सर्वाधिक महँगा विदेशी खेलाडी हुन् । उनलाई राजस्थान रोयल्सले अक्सनबाट १६ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो ।

१४ वर्षको आईपीएल इतिहासमा अक्सनमा कुनै पनि खेलाडीले पाएको यो सबैभन्दा बढी रकम हो । उनले जारी सिजनमा प्रदर्शन पनि सन्तोषजनक नै गरिरहेका थिए ।

ब्याटिङबाट मोरिसले दिल्ली क्यापिटल्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई रोमाञ्चक जित दिलाएका थिए । साथै, उनले सात म्याच खेल्दा ८.६१ को इकोनमीमा १४ विकेट लिए ।

आईपीएल २०२१ मा टिमले सात म्याच खेल्दा मोरिस राजस्थानका लागि सर्वाधिक विकेट लिने बलर हुन् । उनले हालसम्म आईपीएलको ७७ म्याचमा ९४ विकेट लिएका छन् ।

त्यस्तै, मोरिसले आईपीएलको ७७ म्याचको ५४ इनिङ्समा ५ सय ९९ रन बनाएका छन् । त्यसक्रममा उनले दुई अर्धशतक बनाएका छन् ।

मोरिसले राजस्थानअघि आरसीबी, दिल्लीलगायत टिमबाट आईपीएल खेलिसकेका छन् ।

Loading...