टी-१० लिगको मिति सार्वजनिक, कुशल पनि पाउन सक्छन् मौका

काठमाडौं- आबुधाबी टी-१० लिगको पाँचौँ संस्करणको मिति सार्वजनिक भएको छ ।

यूएईमा आयोजना हुने आसन्न संस्करणको टी-१० लिग १८ नोभेम्बरदेखि सुरू हुनेछ ।

यसपालि फाइनल म्याच ४ डिसेम्बरमा खेलिने छ । यो पटक पनि टी-१० मा ८ वटा टिमले नै सहभागिता जनाउने बताइएको छ ।

बंगला टाइगर्स, डेक्कन ग्लाडियटर्स, टिम आबुधाबी, मराठा अरेबियन्स, क्वलन्दर्स, दिल्ली बुल्स, नर्दन वारियर्स र पुणे डेभिल्सले पाँचौ सिजनमा पनि भाग लिँदैछन् ।

गएको सिजनको टी-१० लिग तीन नेपाली क्रिकेटरले पनि खेलेका थिए । चौथो संस्करणको टी-१० मा सोमपाल कामी, करण केसी र कुशल मल्ल विभिन्न टिममा अनुबन्ध भएका थिए ।

सोमपालले मराठा अरेबियन्स, करणले पुणे डेभिल्स र कुशलले टिम आबुधाबीबाट प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्कालाई भने टीम आबुधाबीले इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा टोलीमा भित्र्याएको थियो । आसन्न सिजनको टी-१० लिगमा थप नेपाली खेलाडी अनुबन्ध हुने सम्भावना छ ।

यो पटकको टी-१० लिगमा कुशल भुर्तेल अनुबन्ध हुन सक्छन् । हालै सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा आक्रामक ब्याटिङ गरेका उनीमाथि टिमहरूको चासो छ ।

साथै, कुशललाई बुधबार मात्रै आईसीसीले अप्रिल महिनाका लागि ‘प्लेयर अफ द मन्थ’ मनोनयन गरेको छ ।

यो मनोनयनमा समावेश भएपछि अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको चर्चा थप चुलिएको छ । साथै, लिग सुरू हुने समयमा स्पिनर सन्दीप लामिछानेको समय मिलेमा उनले पनि खेल्नेछन् ।

गत सिजनमा बिग बास लिग (बीबीएल)का कारण अष्ट्रेलियामा भएकाले उनले टी-१० लिग खेलेका थिएनन् ।

उनीहरूका अलावा सोमपाल कामी, कुशल मल्ल र करण केसीलाई टिमहरूले फेरि अनुबन्ध गर्न सक्छन् ।

Loading...