बाबर र फखरसँगै ‘प्लेयर अफ द मन्थ’का लागि मनोनयन भएपछि यस्तो भन्छन् कुशल

काठमाडौं- आईसीसी ‘प्लेयर अफ द मन्थ’का लागि मनोनयनमा परेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल मल्लको चर्चा फेरि शिखरमा छ ।

नेपाल क्रिकेट इतिहासमा आईसीसी ‘प्लेयर अफ द मन्थ’मा समावेश हुने उनी पहिलो क्रिकेटर हुन् ।

कुशलसहित पाकिस्तान टिमका ब्याट्सम्यानद्वय बाबर आजम र फखर जमान पनि मनोनयनमा छन् । उनीहरूमध्येबाट एक जनालाई आईसीसीले ‘प्लेयर अफ द मन्थ’घोषणा गर्नेछ ।

जसले सबैभन्दा बढी भोट पायो सोही खेलाडी यो अवार्ड हात पार्नेछ । ‘प्लेयर अफ द मन्थ’का लागि मनोनयनमा परेपछि कुशलले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले आफू यो अवार्डका लागि मनोनयन हुँदा खुसी लागेको बताए ।

‘डेब्यू सिरिजमै प्लेयर अफ द मन्थका लागि मनोनयनमा पर्दा खुसी लागेको छ । अब खुसी मात्र नभएर आगामी दिनमा अझै प्रगति गर्नुपर्छ भनेर सोचिरहेको छु,’ कुशलले भने, ‘पहिलो पटक नेपाल क्रिकेटबाट प्लेयर अफ द मन्थमा समावेश भइएको छु । हेरौं कहाँसम्म पुगिन्छ ।’

कुशलले बाबर आजम, फखर जमान जस्ता लोकप्रिय ब्याट्सम्यानसँगै नोमिनेसनमा पर्दा निकै खुसी लागेको समेत बताए ।

‘बाबर र फखरको गेम हेरिरहेको हुन्छ, उहाँहरूसँगै आज नोमिनेसनमा देख्दा खुसी लागेको छ,’ उनले भने, ‘ठूलाठूला खेलाडीसँगै मेरो पनि नाम आओस् भन्ने ड्रीम थियो, त्यो पूरा हुँदै गइरहेको छ ।’

कुशलले आफूलाई भोट गर्न पनि सम्पूर्णमा आग्रह गरे ।

‘सायद त नेपालबाट आईसीसी प्लेयर अफ द मन्थका लागि मनोनयनमा परेको पहिलो पटक होला । देश तथा विदेशबाट मलाई माया गर्ने सबैले भोट गरिरहनु भएको छ,’ उनले भने, ‘सबैलाई भोट गर्न पनि अनुरोध गर्दछु । अहिले कोरोनाका कारण सबै घरमै हुनुहुन्छ होला । तपाइको मायाले गर्दा अहिले यो अवस्थामा छु । आगामी दिनमा पनि साथ र माया दिनुहोला ।’

कुशलले घरेलु मैदानमा यही वैशाखमा भएको नेदरल्याण्ड्स र मलेसियासँगको टी-२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले डेब्यू सिरिजमै लगातार तीन अर्धशतक बनाए ।

कुशलले सिरिज अवधिभर पाँच इनिङ्स खेल्दा चार अर्धशतकको मद्दतमा २ सय ७८ रन बनाएका थिए । उनी यो सिरिजमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानसमेत भए ।

डेब्यू सिरिजमै उत्कृष्ट प्रदर्शन गरेपछि कुशल आईसीसी प्लेयर अफ द मन्थको नोमिनेसनमा पनि परेका हुन् ।

कुशललाई कसरी गर्ने भोट? उनलाई भोट गर्नको लागि यो लिंकमा क्लिक गर्नुस् । र, आफ्नो नाम र इमेल भर्नुहोला ।

कुशल अहिले घरमा छन् । घरमै आफू अभ्यासमा व्यस्त रहेको उनले बताए ।

Loading...