अन्तर्राष्ट्रिय मिडियामा फेरि कुशलको चर्चा, विदेशी लिग खेल्न हुनेछ सहज

काठमाडौं- नेपाली राष्ट्रिय टिमका युवा ब्याट्सम्यान कुशल भुर्तेलको चर्चा अझैं सेलाएको छैन । उनको देश तथा विदेशमा अहिले पनि चर्चा कायमै छ ।

उनी अहिले चर्चाको शिखरमा छन् । त्रिदेशीय टी-२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनको चर्चा अहिले अन्तर्राष्ट्रियस्तरमा पनि हुन थालेको हो ।

१७ अप्रिलसम्म भुर्तेललाई नेपालमा मात्र चिन्थेँ । तर, अहिले उनलाई विश्वका विभिन्न देशका क्रिकेट प्रेमीहरूले चिन्न थालेका छन् । यसका साथै उनलाई अन्तर्राष्ट्रिय सञ्चारमध्यमले समेत पछ्याइरहेका छन् ।

कुशल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को ‘प्लेयर अफ द मन्थ’ अवार्डको लागि मनोनयनमा समेत परे ।

आईसीसीले अप्रिल महिनाको लागि प्लेयर अफ द मन्थको नोमिनेसनमा पुरुषतर्फ कुशलसँगै पाकिस्तानका दुई खेलाडी बाबर आजम र फखर पनि परेका हुन् ।

कुशल मनोनयनमा परेसँगै भारतीय सञ्चारमध्यममा उनको चर्चा हुन थालेको छ । यसअघि विश्वकीर्तिमान बनाउँदा पनि भारतीय सञ्चारमध्यममा चर्चामा आएका कुशल फेरि सञ्चारमाध्यका मुख्य हेडलाइन बनेका छन् ।

भारतीय सञ्चारमाध्यममा उनी अहिले छाएका छन् । भारतका चर्चित सञ्चारमध्यमले उनको समाचारलाई प्रथमिकताका साथ छापेका छन् । भारतीय पत्रिका, अनलाइन र टीभीहरूले उनको चर्चा गरिरहेका हुन् ।

यसैक्रममा चर्चित भारतीय ‘जीन्यूज इन्डिया’ले कुशलबारे समाचार प्रकाशित गरेको छ । उसले ‘नेपाली खेलाडी कुशल भुर्तेलका कमाल, आईसीसीको यस अवार्डका लागि दिग्गजको दिँदैछन् टक्कर’ शीर्षकको लेखेको छ । जीन्यूजले आफ्नो समाचारमा कुशलको शानदार खेल प्रदर्शन गरेको भन्दै तारिफ पनि गरेको छ ।

आफ्नो करियरको सुरुवातमा उत्कृष्ट खेल प्रदर्शन गरेका कुशल भुर्तेलले आगामी दिनमा निश्चित रूपमा ठूलो उपलब्धि गर्न सक्ने छन् ।’ जीन्यूजले लेखेको छ ।

यस्तै, इन्डिया डट्कमले पनि कुशलको समाचारलाई प्राथमिकता दिएको छ । उसले आईसीसी प्लेयर अफ द मन्थः पाकिस्तानका बाबर आजमलाई चुनौती दिँदै नेपालका यी खेलाडी’ शीर्षकमा समाचार लेखेको छ ।

‘आईसीसीले प्रत्येक महिनाको उत्कृष्ट क्रिकेटर छनौटको प्रक्रिया शुरू गरेको छ। यस पटक दुई पाकिस्तानी ब्याट्सम्यान बाबर आजम र फखर जमानको नाम यस सूचीमा राखिएको छ। तर, यी दुई खेलाडीलाई यसपटक नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेलले चुनौती दिनेछन्,’ इन्डिया डट्कमले उल्लेख गरेको छ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सुरु भएको १६ वर्षभन्दा बढी भइसकेको छ, तर विश्वका कुनै पनि क्रिकेटरले भुर्तेलअघि डेब्यूपछि एकै टी-२० सिरिजमा लगातार तीन अर्धशतक हिर्काएका थिएनन् भन्दै उसले कुशलको तारिफ गरेको छ ।

नेदरल्याण्ड्ससँग डेब्यू गरेका कुशलले लगातार तीन अर्धशतक बनाएका थिए । उनले पहिलो खेलमा ६२, दोस्रोमा अविजित ६१ र तेस्रोमा ६२ रन बनाएका थिए ।

यस्तै, इन्डिया टीभीको अनलाइन संस्करणले पनि कुशलको चर्चाको गरेको छ । उसले ‘आईसीसी प्लेयर अफ द मन्थको रेसमा सामेल भए नेपालका कुशल भुर्तेल, बाबर आजम र फखर जमानसँग हुनेछ टक्कर’ शीर्षकमा समाचार लेखेको छ ।

अप्रिल महिनाकोे ‘प्लेयर अफ द मन्थ’को अवार्ड बाबरले जितेका छन् ।

Loading...