संन्यास फिर्ता लिने मूडमा डिभिलियर्स, वेष्ट इण्डिजविरुद्ध गर्न सक्छन् ‘कमब्याक’

काठमाडौं- दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्स चर्चित खेलाडी मध्येका एक हुन् ।

उनले आफ्नो करियरमा कप्तानी र ब्याटिङबाट टिमलाई महत्वपूर्ण योगदान दिए ।

एबीले आफ्नो १५ वर्षीय क्रिकेट यात्रालाई विश्राम दिँदै सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट अलविदा लिए ।

डिभिलियर्सले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याच जोहानबर्गमा अष्ट्रेलियाविरुद्ध टेष्ट खेलेका थिए । त्यसपछि उनले ३४ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे ।

एबीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि आईपीएलमा हरेक वर्ष रोयल च्योलन्जर्स बैंग्लोर (आरसीबी) का लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।

एबीले विश्वभरका टी-२० लिगमा शानदार प्रदर्शन गरेका छन् । विभिन्न लिगमा लगातार उच्च प्रदर्शन गरिरहेका उनले संन्यास फिर्ता लिने चर्चा पनि चलेको थियो ।

तर, हालसम्म भने उनले संन्यास फिर्ताको घोषणा गरिसकेका छैनन् ।

पछिल्लो महिना मात्रै दक्षिण अफ्रिकाका प्रमुख प्रशिक्षक मार्क बाउचरले डिभिलियर्सले संन्यास फिर्ता लिन सक्ने संकेत दिएका थिए ।

बाउचरको कुरामा भिडिलियर्सले पनि सकारात्मक तरिकाले सहमति जनाए ।

उनले भनेका थिए, ‘दक्षिण अफ्रिकाका लागि फेरि खेल्नु धेरै ठूलो कुरा हो । पछिल्लो महिना मलाई बाउचरले सोधेका थिए- तिम्रो मनले के भनिरहेको छ? मैले जवाफ दिए- म फेरि आफ्नो देशको लागि खेल्न चाहन्छु ।’

त्यस्तै, दक्षिण अफ्रिका क्रिकेट टिमका निर्देशक ग्रीम स्मिथले पनि डिभिलियर्स फेरि राष्ट्रिय टिममा फर्किन सक्ने बताएका छन् ।

द. अफ्रिकाले जुन महिनामै वेष्ट इण्डिजको भ्रमण गर्दैछ । त्यहाँ उसले वेष्ट इण्डिजसँग दुई टेष्ट र पाँच खेलको टी-२० सिरिज खेल्दैछ ।

वेष्ट इण्डिज भ्रमणका लागि दक्षिण अफ्रिकाले छिट्टै टोली घोषणा गर्दैछ ।

सो टी-२० टोलीमा भिडिलियर्सलाई पनि समावेश गर्न सकिने सम्भावना बलियो रहेको निर्देशक स्मिथले बताएका छन् ।

डिभिलियर्सले दक्षिण अफ्रिकाका लागि २२८ वानडे, ११४ टेष्ट र ७८ टी-२० म्याच खेलिसकेका छन् ।

Loading...