आईपीएलमा गरेको खराब प्रदर्शनबारे यस्तो भन्छन् पूरन

काठमाडौं- वेष्ट इण्डिजका आक्रामक ब्याट्सम्यान निकोलश पूरनका लागि १४औँ सिजन खराब रह्यो ।

प्रतियोगितामा २९ म्याच सकिँदा उनले सात म्याच खेल्न पाए ।

आईपीएल २०२१ मा पनि पञ्जाब किंग्सबाट प्रतियोगिता खेलिरहेका पूरन चार पटक शून्यमै आउट भए । उनी राजस्थान रोयल्स, चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध लगातार शून्यमै आउट भए ।

तेस्रो खेलमा ९ रन बनाउँदा चौथो खेलमा पूरन फेरि शून्यमै पभेलियन फर्किए ।

त्यस्तै, उनले पाँचौ खेलमा केकेआरविरुद्ध १९ रन बनाए । तर, छैटौँ म्याचमा भने पूरन फेरि शून्यमै आउट भए ।

उनले सात म्याचको ६ इनिङ्समा कूल २८ रन बनाए । उनले मुम्बईविरुद्ध भने ब्याटिङ गर्न पाएनन् । सो खेलमा पञ्जाब ९ विकेटले विजयी भएको थियो ।

पूरनले आफ्नो खराब प्रदर्शन र आईपीएल स्थगिबारे प्रतिक्रिया दिएका छन् । ट्वीट गर्दै उनले भनेका छन्, ‘आईपीएल स्थगित हुँदा मन दुखेको छ । यद्यपि स्थगित गर्नु आवश्यक पनि थियो ।’

उनले आफ्नो प्रदर्शनबारे भनेका छन्, ‘मैले गरेको प्रदर्शनको यो चित्र सुरक्षित राख्ने छु, ताकि मलाई उत्कृष्ट प्रदर्शन गर्न ऊर्जा थपोस् । र, म उत्कृष्ट कमब्याक गर्नु सकुँ ।’

लगातार खराब प्रदर्शन गरेपछि पञ्जाबले सातौँ म्याचमा पूरनलाई विश्राम दिएको थियो । उनको स्थानमा डेविड मलानले प्लेइङ-११ मा मौका पाएका थिए ।

आईपीएल २०२१ म पञ्जाबले ८ म्याच खेल्दा तीनमा जित र पाँच खेलमा हारको सामना गरेको छ ।

Loading...