विराटलाई कडा टक्कर दिइरहेका बाबरको तलब कति?

काठमाडौं- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र पाकिस्तान टिमका कप्तान बाबर आजम वर्तमान क्रिकेटका लोकप्रिय खेलाडी हुन् ।

यी दुवै खेलाडी आफ्नो देशका लागि लगातार रन बनाउँदै आएका छन् ।

पछिल्लो समय धेरैले बाबरलाई विराटभन्दा उत्कृष्ट ब्याट्सम्यान पनि भन्छन् । तर, बाबर भने विराटसँग आफ्नो तुलनाबारे सन्तुष्ट छैनन् ।

उनले धेरै पटक आफ्नो र विराटको क्रिकेट खेल्ने तरिका धेरै अलग रहेको बताउने गरेका छन् ।

बाबरले जे सुकै भने पनि समर्थकले भने विराटसँग उनको तुलना गर्न छाडेका छैनन् । बाबरले लगातार उत्कृष्ट प्रदर्शन पनि गरिरहेका छन् ।

विराट र बाबरबीच आईसीसी वरियतामा पनि तीव्र प्रतिस्पर्धा हुने गर्छ । केही दिनअघि मात्र एकदिवसीय वरियतामा विराटलाई पछि पार्दै बाबर शीर्ष स्थानमा उक्लिएका थिए ।

वरियताको कुरा गर्दा विराट टी-२० मा पनि बाबरभन्दा तल्लो क्रममा छन् । आईसीसी टी-२० वरियतामा बाबर तेस्रो र विराट पाँचौ स्थानमा छन् ।

प्रदर्शनको बारेमा यी दुई खेलाडीबीच तुलना गरिएको पटकपटक सुन्न पाइन्छ । तर, पारिश्रमिकको विषयमा भने बाबर-विराटबीच तुलना भएको कमै सुन्न पाइन्छ ।

यसैबीच, आज विराट र बाबरको पारिश्रमिकको विषयमा जानकारी दिने प्रयास गर्दैछौँ । विराट वर्तमान क्रिकेटका सर्वाधिक महँगो खेलाडी मध्ये एक हुन् ।

उनलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले सबैभन्दा उच्च क्याटागोरीमा समावेश गरेको छ ।

अर्थात् विराटलाई बीसीसीआईले ‘ए’ प्लस श्रेणीमा अनुबन्ध गरेको छ । उनले बीसीसीआईबाट हरेक वर्ष साढे सात करोड भारु पारिश्रमिक लिन्छन् ।

बाबर पनि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को केन्द्रीय अनुबन्धको सबैभन्दा टप श्रेणीमा पर्छन् । उनले हरेक वर्ष पीसीबीबाट ११ लाख पाकिस्तानी रुपैयाँ पारिश्रमिक पाउँछन् ।

त्यस्तै, बाबरले पाकिस्तान सुपर लिग (पीएसएल) खेलेको एक सिजनको एक करोड २४ लाख पाउँछन् । विराट भने एक सिजन आईपीएल खेलेको आरसीबीबाट १७ करोड भारु पाउँछन् ।

पारिश्रमिकको तुलना गर्ने हो भने विराटभन्दा बाबरको कम छ । यद्यपि उनले लगातार रन बनाउँदै विभिन्न कीर्तिमान बनाइरहेका छन् ।

बाबरले विराटका कीर्तिमान पनि एकपछि अर्को गरी भंग गरिरहेका छन् ।

उत्कृष्ट प्रदर्शनकै कारण पाकिस्तान क्रिकेट बोर्डले बाबरलाई तिनै प्रारूपको कप्तानमा नियुक्त गरिसकेको छ ।

विराट पनि भारतका लागि लगातार उच्च प्रदर्शन गरिरहेका छन् । यद्यपि, उनको कप्तानीमा हालसम्म भारतले विश्वकप जित्न सकेको छैन ।

हालसम्म बाबरको कप्तानीमा टिमले विश्वकप खेलेको छैन । आसन्न टी-२० विश्वकपमा बाबर र विराटको कप्तानीमा टिमले भाग लिएको देख्न पाइने छ ।

यो विश्वकपमा यी दुई खेलाडीको असली परीक्षा पनि हुनेछ ।

Loading...