विश्वकपअघि पुराना खेलाडीलाई विश्राम दिँदै श्रीलंका, यी ब्याट्सम्यान बन्दै छन् नयाँ कप्तान

काठमाडौं- श्रीलंका क्रिकेट बोर्डले एकदिवसीय र टी-२० टिममा व्यापक परिवर्तन गर्ने भएको छ । उसले आगामी विश्वकपलाई मध्यनजर गर्दै टिममा व्यापक परिवर्तन गर्न लागेको हो ।

वेष्ट इण्डिजसँगको एकदिवसीय सिरिज ३-० ले गुमाएपछि श्रीलंकाको वानडे टिममा परिवर्तनको आवाज उठ्न थालेको थियो ।

श्रीलंकाले अनुभवी खेलाडी एन्जेलो म्याथ्यूज, दिनेश चन्डिमल, दिमुथ करुणारत्ने, लाहिरु थिरिमानेलगायत अनुभवी खेलाडीलाई एकदिवसीय टिमबाट विश्राम दिने सम्भावना छ ।

केही दिनअघि मात्र अनुभवी खेलाडीलाई मिटबाट विश्राम दिने सूचना पाएपछि अनुभवी अलराउन्डर थिसरा परेराले संन्यास लिएका थिए ।

हाल श्रीलंका वानडे टिमको कप्तानीदिमुथ करुणारत्नेले गरिरहेका छन् । उनी टेष्ट टिमको कप्तान पनि हुन् ।

व्यक्तिगत प्रदर्शन ठीकै गरे पनि करुणारत्नेको नेतृत्वमा वानडेमा श्रीलंकाले नतिजा भने अपेक्षाकृत हासिल गरिरहेको छैन ।

जसकारण उनलाई वानडे टिमबाट विश्राम दिने सम्भावना बढी भएको हो ।

विभिन्न सञ्चारमाध्यमका अनुसार करुणारत्नेलाई टेष्टमा मात्र सीमित राखेर श्रीलंका वानडे टिमको नयाँ कप्तान चयन गर्ने तयारीमा छ ।

नयाँ कप्तानमा क्रिकेटले ओपनर कुशल परेरालाई नियुक्त गर्ने सम्भावना बलियो छ ।

कुशल मेन्डिसलाई वानडे टिमको उपकप्तानमा नियुक्त गरिएको छ । श्रीलंकाले नयाँ खेलाडीलाई मौका दिन पुराना खेलाडीलाई विश्राम दिने योजना बनाएको छ ।

केही महिनाअघि मात्रै श्रीलंकाले लोकप्रिय बलर लसिथ मलिंगालाई विश्राम दिँदै अलराउन्डर दसुन शनाकालाई कप्तान बनाएको थियो ।

आसन्न टी-२० विश्वकपमा उनकै कप्तानीमा श्रीलंकाले विश्व खेल्ने सम्भावना छ ।

Loading...