प्रशिक्षक ह्वाटमोरको प्रशिक्षणबारे यस्तो भन्छन् कुशल

काठमाडौं- ब्याट्सम्यान कुशल भुर्तेलले डेभ ह्वाटमोरको आगमनले नेपाली राष्ट्रिय क्रिकेट टिमले फरक वातावरणको अनुभूति गरिरहेको बताएका छन् ।

एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा उनले नेपाली टिमको प्रमुख प्रशिक्षकमा ह्वाटमोर नियुक्त भएसँगै राम्रो वातावरण भएको बताएका हुन् ।

‘डेभ सरले सबैलाई समान व्यवहार गर्नुहुन्छ । उहाँले सिनियर/जुनियर सबै खेलाडीलाई समान व्यवहार गर्नुहुन्छ,’ कुशलले भने, ‘अहिले नेपाली क्रिकेट टिममा उहाँ आएपछि राम्रो वातावरण पनि बनेको छ ।’

साथै, कुशलले यही वैशाखमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले राम्रो प्रदर्शन गर्नमा वाटमोरको महत्वपूर्ण भूमिका रहेको समेत बताए ।

‘क्रेडिट डेभ सरलाई पनि जान्छ । उहाँले स-साना कुरा पनि बताउनुहुन्छ, जुन ति कुरा महत्वपूर्ण हुन्छन्,’ उनले भने, ‘सरले हामीलाई टाइम दिनुहुन्छ । डेभ सर एक्लै ग्राउन्डमा आएर टाइम दिनुहुन्थ्यो । फिटनेसमा ध्यान दिन आग्रह गर्नुहुन्थ्यो । नेपालले सिरिज जित्नमा उहाँलाई धेरै क्रेडिट जान्छ ।’

यही वैशाख ११ गते सम्पन्न नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको त्रिकोणात्मक टी-२० सिरिजमा कुशलले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले पाँच खेलमा चार अर्धशतक बनाए । कुशलले तीन अर्धशतक लगातार बनाए ।

उनले सिरिज अवधिभर पाँच इनिङ्स खेल्दा चार अर्धशतकको मद्दतमा २ सय ७८ रन बनाएका थिए । उनी यो सिरिजमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानसमेत भए ।

डेब्यू सिरिजमै कीर्तिमानी प्रदर्शन गरेपछि कुशल आईसीसी ‘प्लेयर अफ द मन्थ’का लागि मनोनयनसमेत भएका छन् । नेपाल क्रिकेट इतिहासमा आईसीसी ‘प्लेयर अफ द मन्थ’मा समावेश हुने उनी पहिलो क्रिकेटर हुन् ।

कुशलसहित पाकिस्तान टिमका ब्याट्सम्यानद्वय बाबर आजम र फखर जमान पनि मनोनयनमा छन् । उनीहरूमध्येबाट एक जनालाई आईसीसीले ‘प्लेयर अफ द मन्थ’घोषणा गर्नेछ ।

कुशललाई कसरी गर्ने भोट?

कुशललाई भोट गर्नको लागि यो लिंकमा क्लिक गर्नुस् । र, आफ्नो नाम र इमेल भर्नुहोला ।

Loading...