कुशलले ‘प्लेयर अफ द मन्थ’अवार्ड जित्ने चार कारण

काठमाडौं- केही दिनअघि मात्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले ‘आईसीसी प्लेयर अफ द मन्थ’ नोमिनेसनका लागि तीन जना खेलाडीको नाम सार्वजनिक गरेको थियो ।

आईसीसीले अप्रिल महिनाका लागि नेपालका कुशल भुर्तेल, पाकिस्तानका बाबर आजम र फखर जमानको नाम सार्वजनिक गरेको हो ।

‘आईसीसी प्लेयर अफ द मन्थ’ अवार्डको घोषणा आईसीसीले केही दिनभित्र गर्दैछ । नेपालबाट कुनै पनि खेलाडी पहिलो पटक यो अवार्डका लागि मनोनयमा समावेश भएका हुन् ।

डेब्यू सिरिजमै उत्कृष्ट ब्याटिङ गरेकाले कुशल ‘आईसीसी प्लेयर अफ द मन्थ’का लागि मनोनयमा पर्न सफल भए ।

‘आईसीसी प्लेयर अफ द मन्थ’का लागि मनोनयनमा परेपछि कुशलले जित्ने सम्भावना कति? यो प्रश्न धेरै क्रिकेट समर्थकको मनमा छ ।

कुशलले ‘आईसीसी प्लेयर अफ द मन्थ’ अवार्ड जित्न सक्ने चार आधार

१. भारतको पनि साथ : राजनीति तथा सीमा विवादका कारण भारत र पाकिस्तानबीचको सम्बन्ध अहिले पनि राम्रो छैन । यसको प्रभाव दुवै देशबीचको क्रिकेटमा पनि परेको छ ।

विवादकै कारण भारत-पाकिस्तानबीच वर्षौंदेखि द्विपक्षीय सिरिज हुन सकेका छैनन् । आईसीसीले आयोजना गर्ने विभिन्न विश्वकपमा मात्र यी दुई टिमले एकअर्काविरुद्ध खेल्ने गरेका छन् ।

‘आईसीसी प्लेयर अफ द मन्थ’ का लागि पाकिस्तानभन्दा नेपालका खेलाडीप्रति भारतीय क्रिकेट समर्थकको सहानुभूति हुन सक्छ ।

जसकारण भारतीय क्रिकेट समर्थकले ‘आईसीसी प्लेयर अफ द मन्थ’का लागि कुशललाई भोट गर्न सक्छन् ।

२. मिडियाको साथ : कुशल युवा भएकाले पनि प्रोत्साहनका लागि उनलाई भोट गर्ने सम्भावना बढी छ ।

त्यसका साथै, भारतीय मिडियाले पनि कुशललाई बढी प्राथमिकता दिएर समाचार प्रकाशन/प्रशारण गरिरहेका छन् ।

दैनिक जागरण, दैनिक भास्करदेखि त्यहाँका चर्चित पत्रपत्रिकाका साथै टेलिभिजले कुशललाई प्राथमिकता दिएर समाचार प्रकाशन/प्रशारण गरिरहेका छन् ।

यसका साथै, आईसीसी स्वयमले भने कुशलसहित अन्य तीन प्रतिस्पर्धीको पनि निरन्तर प्रचार गरिरहेको छ ।

बाबर र फखरले यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटमा पहिचान बनाइसकेका छन् । तर, कुशल भर्खरै मात्र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जोडिरहेका छन् । हौसलाका लागि पनि कुशलले बढी भोट प्राप्त गर्न सक्छन् ।

३. बाबर र फखर एकै देशको हुनु : कुशलले ‘आईसीसी प्लेयर अफ द मन्थ’अवार्ड जित्न सक्ने आधार फखर र बाबर एउटै देशको भएर पनि हो । यो अवार्डका लागि एक जनाले एक भोट मात्र गर्न पाउँछ ।

अर्थात् एक इमेल आइडीबाट एक भोट गर्न सकिन्छ । यस्तो हुँदा पाकिस्तानी खेलाडीलाई भोट गर्ने समर्थक बाँडिएका छन् ।

उनीहरू कसलाई भोट गर्ने भन्नेबारे अन्योलमा पनि हुन सक्छन् । यसको फाइदा कुशललाई पुग्न सक्छ ।

४. एसोसियट राष्ट्रको खेलाडी : बाबर र फखर टेष्ट टिमका सदस्य हुन् । तर, कुशल भने एसोसियट राष्ट्रका खेलाडी हुन् ।

हालसम्म ‘आईसीसी प्लेयर अफ द मन्थ’अवार्ड एसोसियट राष्ट्रका खेलाडीले पाउन सकेका छैनन् । यसपालि भने आईसीसीले भोटका साथै आफूसँग भएको अधिकार प्रयोग गर्दै कुशललाई विजयी बनाउन सक्छ ।

Loading...