भारतलाई यू-१९ विश्वकप जिताएका चन्द अमेरिकाबाट क्रिकेट खेल्ने मूडमा

काठमाडौं- भारतमा राष्ट्रिय टिमबाट क्रिकेट खेल्न निकै प्रतिस्पर्धा छ । एकपछि अर्को उत्कृष्ट खेलाडी जन्मिरहेकाले पनि राष्ट्रिय टिममा पर्न चर्को प्रतिस्पर्धा भइरहेको हो ।

राष्ट्रिय टिमबाट खेल्ने अवसर कम मिल्ने भएकाले धेरै भारतीय खेलाडी विदेशसमेत पलायन भएका छन् ।

यसैबीच, भारतलाई यू-१९ विश्वकप जिताउने उन्मुक्त चन्द पनि विदेश पलायन हुने सम्भावना बढेको छ ।

चन्दले अमेरिकाबाट क्रिकेट खेल्ने सम्भावना बढेको हो । पाकिस्तानी क्रिकेटर समी असलमले पनि उन्मुक्तले अमेरिकामा क्रिकेट खेल्ने बताएका छन् ।

समी पनि अमेरिकामा क्रिकेट खेल्ने तयारीमा छन् । उन्मुक्तले भने यो कुरा घुमाउरो ढंगले इन्कार गरेका छन् ।

इण्डियन एक्सप्रेस डटकमसँग कुरा गर्दे उनले तत्काल अमेरिकामा क्रिकेट खेल्ने कुनै योजना नभएको बताए ।

‘म अमेरिका आफ्ना आफन्त भेट्न गएको थिए । यद्यपि मैले त्यहाँ एक/दुई दिन भने ब्याटिङको अभ्यास गरे,’ चन्दले भनेका छन्, ‘अहिलेसम्म मैले अमेरिकामा कुनै पनि लिगसँग अनुबन्ध गरेको छैन । त्यहाँ म केवल घुम्नका लागि गएको थिए ।’

यद्यपि, असलमले भने उन्मुक्तसहित केही भारतीय क्रिकेटरले अमेरिकामा नयाँ करियर सुरू गर्न लागेको दाबी गरेका छन् ।

‘हालै मात्र ३०/४० विदेशी खेलाडी अमेरिका आएका छन् । यसमा केही भारतीय यू-१९ टिमका पूर्वखेलाडी पनि छन्,’ असलमले भनेका छन्, ‘उन्मुक्त चन्द, समित पटेल र हरमीत सिंहले अमेरिकामा क्रिकेट खेल्ने योजना बनाएका छन् ।’

भारतीय खेलाडीहरू मेजर टी-२० क्रिकेट लिगमा भाग लिने बताइएको छ । अमेरिकाले पहिलो पटक विदेशी खेलाडी समावेश गरिने लिगको आयोजना गर्दैछ ।

सो लिगका लागि केही भारतीय खेलाडीले अभ्याससमेत गरिसकेका बताइएको छ ।

न्यूजिल्याण्डका कोरी एण्डरसन र डान पीटलगायत चर्चित खेलाडी पनि अहिले अमेरिकामा छन् । उनीहरू पनि अब अमेरिकाबाट क्रिकेट खेल्ने चर्चा छ ।

साथै, वेष्ट इण्डिज, यूएई, हङकङलगायत देशबाट क्रिकेट खेलिसकेका थुप्रै खेलाडीले अमेरिकाका लागि खेल्दैछन् ।

सन् २०१२ मा भएको एकदिवसीय यू-१९ विश्वकपमा उन्मुक्त चन्दको कप्तानीमा भारतले उपाधि जितेको थियो ।

फाइनलमा अष्ट्रेलियाले ६ विकेटले हराउँदै २०१२ मा भारतले विश्वकप जितेको हो । सो विश्वकप फाइनलमा चन्दले अविजित १ सय ११ रन बनाएका थिए ।

हालसम्म उन्मुक्तले ६७ प्रथम श्रेणी क्रिकेटमा ३३७९ रन, १२० लिस्ट ‘ए’ म्याचमा ४५०५ रन बनाएका छन् । दायाँ हाते यी ब्याट्सम्यानले ७७ टी-२० म्याचमा १५६४ रन बनाएका छन् ।

जसमा उनले तीन शतक प्रहार गरेका छन् ।

उन्मुक्तले दिल्ली क्यापिटल्स, मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबाट आईपीएलसमेत खेलिसकेका छन् ।

Loading...