भारतसँग खेल्नुअघि श्रीलंका टिमले पायो नयाँ कप्तान र उपकप्तान

काठमाडौं- श्रीलंका क्रिकेट बोर्डले एकदिवसीय टोलीका लागि नयाँ कप्तान र उपकप्तान चयन गरेको छ ।

श्रीलंकाले नयाँ वानडे कप्तानमा कुशल परेरा र उपकप्तानमा कुशल मेन्डिसलाई नियुक्त गरेको हो ।

दिमुथ करुणारत्नेलाई हटाउँदै श्रीलंका क्रिकेटले परेरालाई नयाँ कप्तानको जिम्मेवारी दिएको हो । वेष्ट इण्डिजसँगको एकदिवसीय सिरिज ३-० ले गुमाएपछि श्रीलंकाले कप्तान परिवर्तन गरेको हो ।

त्यस्तै, श्रीलंकाले टिमका अनुभवी खेलाडीलाई विश्राम दिएको छ ।

दिनेश चन्डिमल, एन्जेलो म्याथ्यूज, लाहिरु थिरिमानेलगायत अनुभवी खेलाडी टिममा अटाएका छैनन् ।

उनीहरूको स्थानमा चमिका करुणारत्ने शिरान फर्नान्डो, असिथ फर्नान्डो, बिनुरा फर्नान्डो जस्ता नयाँ अनुहारले टिममा स्थान बनाएका छन् ।

दनुष्‍का गुनाथिलाका, धनन्जय डी सिल्‍वा, एशेन भण्डारा, निरोशन डिकवेला, दसुन शनाका, इसुरु उडाना, रमेश मेन्डिस, लक्षण सदाकन, अकिला धनन्जय, वानिन्दु हसरंगाले भने टिममा स्थान बनाउन सकेका छन् ।

आज घोषित यो टिमले बंगलादेशसँग तीन म्याचको एकदिवसीय सिरिज खेल्नेछ । यो सिरिज बंगलादेशमा २३, २५ र २८ मेमा हुँदैछ ।

बंगलादेशसँग खेलेर श्रीलंकाले घरेलु मैदानमा भारतसँग एकदिवसीय र टी-२० सिरिज खेल्दैछ । भारत-श्रीलंकाबीचको सिरिज जुनमा हुँदैछ ।

श्रीलंकाको घोषित वानडे टिम : कुसल परेरा (कप्‍तान), कुसल मेन्डिस (विकेटकीपर), दनुष्‍का गुनाथिलाका, पथम निसंका, धनन्जय डी सिल्‍वा, एशेन भण्डारा, निरोशन डिकवेला, दसुन शनाका, इसुरु उडाना, दुश्‍मम्थ चमीरा, रमेश मेन्डिस, लक्षण सदाकन, अकिला धनन्जय, वानिन्दु हसरंगा, चमिका करुणारत्‍ने, असिथ फर्नान्डो, बिनुरा फर्नान्डो र शिरान फर्नान्डो ।

Loading...