धमाधम खेलाडी ‘रिटेन’ गर्दै सीपीएल टिम, यस्तो छ सन्दीप अनुबन्ध हुने सम्भावना

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल)को आसन्न संस्करणका लागि गुयाना अमेजन वारियर्सले ११ खेलाडी रिटेन गरेको छ ।

उसले कप्तान क्रिस ग्रीनसहित केही खेलाडीलाई भने रिलिज गरेको छ ।

वारियर्सले निकोलश पूरन, ब्रेण्डन किंग, नवीन उल हक, इमरान ताहिर, शिमरन हेटमायर, ब्राण्डनरोमियो शेफर्ड, चन्द्रपोल हेमराज, ओडियन स्मिथ, एन्थोनी ब्राम्बल, केविन सिनक्लेयर र अश्मिद नेदलाई पुनः अनुबन्ध गरेको छ ।

आसन्न सिजनको सीपीएल आउँदो २८ अगष्टदेखि सुरू हुँदैछ । कप्तान रिलिज गरेपछि वारियर्सले नयाँ कप्तानको भने टुंगो लगाइसकेको छैन ।

यो पटक उसले निकोलश पूरनलाई कप्तान बनाउने सम्भावना छ । पूरनले गएको आबुधाबी टी-१० मा उत्कृष्ट कप्तानी गरेका थिए ।

साथै, उनले हरेक सिजनमा सीपीएलमा राम्रो प्रदर्शन पनि गर्दै आएका छन् ।

गत सिजनमा वारियर्सले सेमिफाइनलसम्मको यात्रा गरेको थियो । सीपीएल २०२१ को सिजन सेन्ट किट्समा आयोजना हुँदैछ ।

गत सिजनको उपाधि ट्रीनबागो नाइट राइडर्सले जितेको थियो ।

सन्दीपको सम्भावना कति?

सीपीएलको पछिल्लो तीन संस्करणमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले लगातार सहभागिता जनाइरहेका छन् ।

उनले जमैका तल्लावाज, सेन्ट किट्स नेभिस प्यट्रियट्स र बार्बाडोस ट्राइडेन्टसबाट सीपीएल खेलिसकेका छन् ।

सन्दीपले गत सिजनको सीपीएलमा उत्कृष्ट बलिङ गरेका थिए । गत संस्करणमा उनी सर्वाधिक विकेट लिने सूचीको सातौँ स्थानमा रहेका थिए ।

सन्दीपले सीपीएल २०२० मा ११ म्याचमा २११ रन दिएर १२ विकेट लिएका थिए ।

यो पटक पनि सन्दीपले सीपीएल खेल्ने सम्भावना छ । गत सिजनमा राम्रो प्रदर्शन गरेकाले सन्दीपलाई जमैकाले रिटेन गर्न सक्छ ।

Loading...