नेदरल्याण्ड्सविरुद्ध टेष्ट टिम आयरल्याण्ड ९४ रनमै अलआउट

काठमाडौं- नेदरल्याण्ड्स ‘ए’सँगको एकदिवसीय म्याचमा आयरल्याण्ड ‘ए’ ९४ रनमै अलआउट भएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले २३.५ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

उसका लागि शेन गेटकेटले ३२, क्रेग योङले ३०, निल रकले १६ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

आयरल्याण्डका पीटर चेस, जेम्स म्याक्लम, विलियम पोर्टरफिल्ड, स्टफीन डोहेनी शून्यमै आउट भए । उसले १० ओभरमा महत्वपूर्ण पाँच विकेट गुमाएर २० रन बनाएको थियो ।

बलिङमा भिभियन किंग्माले तीन, पउलभ्यान मेकरम, आर्यन दत्तले दुई/दुई, फिलिप बोइसेभ्यान, विक्रमजित सिंह र लोगानभ्यान बिकले एक/एक विकेट लिए । वर्षाका कारण खेल ४० ओभरमा झारिएको छ ।

किंग्मा, मेकरम, आर्यन, फिलिप र सिंहले यही वैशाखमा नेपालमा भएको त्रिकोणात्मक सिरिजमा समेत खेलेका थिए ।

नेपालमा भएको सिरिजमा लयमा नदेखिएका नेदरल्याण्ड्सका बलर टेष्ट मान्यता ब्याट्सम्यानविरुद्ध भने उत्कृष्ट प्रदर्शन गरेका छन् ।

Loading...