अष्ट्रेलियाका यी ५ चर्चित क्रिकेटर : जसले नेपालविरुद्ध पनि खेलेका छन्

काठमाडौं- नेपालको यू-१९ क्रिकेट टोलीले धेरै पटक विश्वकपमा समेत सहभागिता जनाइसकेको छ ।

नेपालले २००० देखि २००८ सम्म लगातार पाँच पटक यू-१९ विश्वकप खेलेको थियो । त्यसपछि भने नेपालले दुई पटक मात्र यू-१९ विश्कप खेल्ने मौका पाएको छ ।

कुनै बेला यू-१९ विश्वकप नेपालविरुद्ध खेलेका टेष्ट मान्यता देशका धेरै खेलाडी अहिले पनि विश्व क्रिकेटमा चम्किँरहेका छन् ।

यसैबीच, आज सन् २००८ को वानडेमा विश्वकपमा नेपाल यू-१९ टिमविरुद्ध खेलेका अष्ट्रेलियाका ५ चर्चित खेलाडीको बारेमा चर्चा गर्दैछौँ :

१. स्टिभ स्मिथ : सन् २००८ को विश्वकपको नेपालले अष्ट्रेलियाविरुद्ध पनि खेलेको थियो । सो विश्वकपमा अष्ट्रेलिया टिममा अहिलेका लोकप्रिय क्रिकेटर स्टिभ स्मिथ पनि थिए ।

स्मिथले नेपालसँगको खेलमा २५ बलमा तीन चौकाको मद्दतमा १७ रनको योगदान दिएका थिए । सो खेलमा उनलाई राज श्रेष्ठले पारस खड्काको हातबाट क्याच आउट गराएका थिए ।

बलिङमा स्मिथले तीन विकेट लिएका थिए । सो खेलमा उनले आकाश गुप्ता, अमृत भट्टराई र राज श्रेष्ठलाई आउट गरेका थिए ।

२. फिलिप ह्युज : सन् २००८ को यू-१९ विश्वकपमा नेपालविरुद्ध फिलिप ह्युजले पनि खेलेका थिए । उनले नेपालसँगको खेलमा ९४ बलमा दुई चौकाको मद्दतमा ४६ रन बनाएका थिए ।

ह्युजलाई राहुल विश्वकर्माले आउट गरेका थिए । ह्युज पनि अष्ट्रेलियामा चर्चित खेलाडी हुन् । सन् २०१४ मा एक घरेलु प्रतियोगिताका क्रममा टाउकोमा बल लाग्दा उनको मृत्यु भएको थियो ।

३. जेम्स फल्कनर : जेम्स फल्कनर पनि अष्ट्रेलियाका चर्चित अलराउन्डर हुन् । उनले अष्ट्रेलियाका लागि ६९ वानडे, २४ टी-२० र एक टेष्ट म्याच खेलिसकेका छन् ।

फल्कनरले सन् २००८ कै विश्वकपमा नेपालविरुद्ध खेलेका थिए । उनले ३३ बलमा २२ रन बनाएका थिए । फल्कनरलाई पारस खड्काले आउट गरेका थिए ।

४. जेम्स प्याटिन्सन : अहिलेका चर्चित अष्ट्रेलियन बलर जेम्स प्याटिन्सनले पनि नेपालविरुद्ध खेलिसेकेका छन् । उनले पनि २००८ कै विश्वकपमा नेपालविरुद्ध खेलेका थिए ।

प्याटिन्सले नेपालविरुद्धको सो खेलमा ब्याटिङमा १० रन बनाउँदा बलिङबाट तीन विकेट लिएका थिए । उनी सो खेलमा ‘म्यान अफ द म्याच’समेत घोषित भएका थिए ।

५. जोश हेजलउड : जोश हेजलउड पनि अष्ट्रेलियाका चर्चित बलर हुन् । तिनै चर्चित बलर हेजलउडले पनि नेपालविरुद्ध खेलिसकेका छन् । उनले पनि सन् २००८ कै विश्कपमा नेपालविरुद्ध खेन्ने मौका पाएका थिए ।

सो खेलमा हेजलउडले ब्याटिङमा दुई रन बनाउँदा बलिङमा भने महँगा सावित भएका थिए । बलिङमा उनले ५ ओभरमा बिनाविकेट २६ रन खर्चिएका थिए ।

अष्ट्रेलियाविरुद्धको सो खेलमा नेपाल ९६ रनले पराजित भएको थियो । अष्ट्रेलियाले दिएको २०७ रनको लक्ष्य पछ्याएको नेपाल ३२.१ ओभरमा ११० रनमै अलआउट भएको थियो ।

सो खेलमा नेपालका लागि राहुल विश्वकर्माले अविजित ३३, ज्ञानेन्द्र मल्लले १७, रोम श्रेष्ठले ११ रन बनाएका थिए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । सो खेलमा नेपाली टिममा पारस खड्का कप्तान थिए । उनी ब्याटिङमा शून्यमै आउट भएका थिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलिया ४९.३ ओभरमा सबै विकेट गुमाएर २०६ रन बनाएको थियो ।

उसका लागि ओपनर फिलिप ह्युजले सर्वाधिक ४६ रन जोडेका थिए । सो खेलमा कप्तान पारस खड्काले घातक बलिङ गरेका थिए ।

उनले ९.३ ओभरमा एक मेडनसहित ३२ रन दिएर चार विकेट लिएका थिए । त्यस्तै, राज श्रेष्ठले तीन, राहुल विश्वकर्माले दुई र अन्तिम थापाले एक विकेट लिए । सन् २००८ को वानडे विश्वकप मलेसियामा भएको थियो ।

सन् २००८ को वानडे विश्वकप मलेसियामा भएको थियो । सो विश्वकप भारतले जितेको थियो । त्यो बेला भारतीय यू-१९ टिममा अहिलेका कप्तान विराट कोहली नै कप्तान थिए ।

Loading...