‘लंका प्रिमियर लिग’को मिति घोषणा, ३ नेपाली क्रिकेटरले पनि मौका पाउने सम्भावना

काठमाडौं- श्रीलंकाको टी-२० लंका प्रिमियर लिग (एलपीएल)को दोस्रो संस्करण सुरू हुने मिति घोषणा भएको छ ।

यो पटक एलपीएल ३० जुलाईदेखि २२ अगस्टसम्म हुनेछ ।

श्रीलंका क्रिकेट बोर्डले बुधबार प्रतियोगिता सुरू हुने मिति घोषणा गरेको हो । गत सिजनमा लिगमा पाँच टिमले भाग लिएका थिए ।

यो पटक कोरोनाका कारण सबै म्याच बिनादर्शकको मैदानमा हुनेछन् ।

गत सिजनको एलपीएलको उपाधि जाफ्ना स्टालियन्सले जितेको थियो । उसले गाल ग्दाडियटर्सलाई हराउँदै पहिलो संस्करणको उपाधि हात पारेको हो ।

पहिलो संस्करणको एलपीएलमा नेपालबाट कुनै पनि खेलाडीले सहभागिता जनाएका थिएनन् । यो पटक भने केही नेपाली खेलाडीले पनि लिगमा अवसर पाउन सक्छन् ।

कुशल भुर्तेल, दीपेन्द्र ऐरी, करण केसीले एलपीएलमा मौका पाउन सक्छन् । यी युवा खेलाडीहरूले यही वैशाखमा घरेलु मैदानमा भएको टी-२० त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

एलपीएलमा कुशल अनुबन्ध हुने सम्भावना बढी छ । त्रिकोणात्मक सिरिजमा कीर्तिमानी प्रदर्शन गरेपछि कुशलको सम्भावना बढी भएको हो ।

साथै, ‘आईसीसी प्लेयर अफ द मन्थ’का लागि पनि नोमिनेसनमा परेकाले उनी एलपीएलमा अनुबन्ध हुन सक्छन् ।

यो पटकको एलपीएलमा सन्दीप अनुबन्ध हुने सम्भावना कम छ ।

एलपीएलको समयमा ‘द हन्ड्रेड’ र टी-२० ब्लास्टका लागि इंग्ल्याण्डमा हुने भएकाले सन्दीपले एलपीएल नखेल्ने भएका हुन् ।

एलपीएलको गत सिजनमा भारतीय खेलाडीहरूले पनि सहभागिता जनाएका थिए ।

पहिलो सिजनको एलपीएलमा इरफान पठान, मुनाफ पटेल, मनप्रीत गोनीलगायत भारतीय खेलाडीले पनि खेलेका थिए ।

Loading...