कुशलले बताए आफू खेल्न चाहेको दुई आईपीएल टिम

काठमाडौं- नेपाली क्रिकेटर अहिले निषेधाज्ञाका कारण घरमै बसिरहेका छन् ।

यही वैशाखमा नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक सिरिज खेलेपछि निषेधाज्ञाका कारण नेपाली खेलाडी घरमै बसिरहेका हुन् ।

नेपालले तत्काल क्रिकेट खेल्ने तालिका छैन । बढ्दो कोरोना संक्रमणका कारण नेपाल क्रिकेट संघ (क्यान)ले तत्काल हुने विभिन्न घरेलु तथा द्विपक्षीय सिरिज स्थगित गरिसकेको बताइसकेको छ ।

प्रतियोगिता नभएको अवस्थामा क्रिकेटहरू विभिन्न माध्यमबाट अन्तर्वार्ता दिन व्यस्त छ ।

यसैबीच, नेपाली टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल भर्चुलरूपमा विभिन्न सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन व्यस्त देखिएका छन् ।

घरेलु मैदानमा त्रिकोणात्मक सिरिजमा कीर्तिमानी प्रदर्शन गरेपछि निषेधाज्ञा भए पनि कुशलको व्यस्तता कम छैन ।

प्रतियोगिता नभए पनि उनले विभिन्न सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिइरहेका छन् ।

केही दिनअघि मात्र कुशलले भारतीय एक युट्यब च्यानलाई अन्तर्वार्ता दिएका छन् । ‘स्पोर्टस् यारी’ नामको युट्युब च्यानलसँग उनले १५ मिनेट लामो अन्तर्वार्ता दिएका हुन् ।

सो अन्तर्वार्तामा कुशलले विभिन्न विषयमा कुराकानी गरेका छन् । हिन्दीमै कुरा गरेका उनले आफूलाई मनपर्ने खेलाडी, मनपर्ने आईपीएल टिमलगायत विषयमा पनि बताएका छन् ।

आईपीएलमा कुन टिमबाट खेल्ने इच्छा छ? यो प्रश्नमा कुशलले दुई टिमको नाम लिए । उनले पहिलो दिल्ली क्यापिटल्स र दोस्रोमा सनराइजर्स हैदराबादको नाम लिए ।

कुशलले दिल्लीमा रिकी पोन्टिङ र हैदराबादमा डेविड वार्नर भएकाले ती दुई टिमबाट आईपीएल खेल्ने चाहना रहेको बताए ।

कुशललाई पोन्टिङ र वार्नरको क्रिकेट मनपर्छ । यी दुईमध्ये आफूलाई पोन्टिङ मनपर्ने गरेको बेलाबेला बताउँदै आएका छन् ।

साथै, वर्तमान समयमा कुन खेलाडीसँग ओपनिङ गर्ने इच्छा छ? यो प्रश्न पनि कुशललाई सोधिएको थियो । जवाफमा उनले बाबर आजमको नाम लिए ।

स्मरण रहोस् केही दिनअघि मात्र अप्रिल महिनाको ‘आईसीसी प्लेयर अफ द मन्थ’को अवार्ड कुशल र फखर जमानलाई पछि पार्दै बाबरले हात पारेका थिए ।

Loading...