श्रीलंकासँगको सिरिजमा डेब्यू गर्न सक्ने चार युवा क्रिकेटर

काठमाडौं- १४औँ सिजनको आईपीएल बिचमै स्थगित भएपछि भारतीय टिमले श्रीलंका भ्रमण गर्दैछ ।

भारत ‘बी’ टिमका साथ श्रीलंका भ्रमण गर्न लागेको हो । श्रीलंका र भारतबीचको सिरिज १३ जुलाईदेखि सुरू हुनेछ ।

श्रीलंका भ्रमणका क्रममा भारतले त्यहाँ तीन खेलको एकदिवसीय र तीन खेलकै टी-२० सिरिज खेल्ने छ । श्रीलंका भ्रमणमा निस्किन लागेको भारतीय ‘बी’ टिममा धेरै युवा खेलाडी छन् ।

श्रीलंका जानुअघि भारतीय ‘बी’ टिममा समावेश हुने केही खेलाडी उत्कृष्ट लयमा थिए । उत्कृष्ट लयकै कारण उनीहरूले श्रीलंका भ्रमणका क्रममा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने सम्भावना छ ।

श्रीलंका भ्रमणका क्रममा डेब्यू गर्न सक्ने चार खेलाडी

१. पृथ्वी शा : पृथ्वीले टेष्ट र एकदिवसीय क्रिकेटमा डेब्यू गरिसकेका छन् । यद्यपि, उनले अन्तर्राष्ट्रिय टी-२० मा भने डेब्यू गर्न बाँकी छ ।

आईपीएल २०२१ मा पनि दिल्ली क्यापिटल्सका लागि पृथ्वीले उत्कृष्ट प्रदर्शन गरे । शानदार लयमा रहेका उनले श्रीलंका भ्रमणका क्रममा डेब्यू गर्ने सम्भावना बढी छ ।

२. देवदत्त पाडिक्कल : आरसीबीबाट आईपीएल खेल्ने युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलले १४औँ सिजनमा पनि उत्कृष्ट प्रदर्शन गरे ।

२९ म्याचमा स्थगित भएको यो पटकको आईपीएलमा उनले राजस्थानविरुद्ध शतकीय पारी खेले ।

उत्कृष्ट लयमा रहेका २० वर्षीय पाडिक्कलले श्रीलंका भ्रमणका क्रममा डेब्यू गर्ने सम्भावना बलियो छ ।

३. वरुण चक्रवर्ती : आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि स्पिनर वरुण चक्रवर्तीले अष्ट्रेलिया भ्रमणमा पनि मौका पाएका थिए । तर, चोटका कारण उनले सो भ्रमणका लागि अष्ट्रेलिया जान पाएनन् ।

त्यस्तै, वरुण इंग्ल्याण्ड सिरिजअघि फिटनेस टेष्ट पनि पास हुन सकेनन् ।

आईपीएल २०२१ मा राम्रो प्रदर्शन गरेका वरुण श्रीलंका भ्रमणमा जाने छन् । राम्रो लयमा रहेकाले उनले श्रीलंका भ्रमणका क्रममा डेब्यू गर्ने सम्भावना छ ।

४. राहुल तेवटिया : आईपीएलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्ने राहुल तेवटियाले पनि श्रीलंका भ्रमणका क्रममा डेब्यू गर्ने सम्भावना छ ।

इंग्ल्याण्डसँगको सिरिजमा टिममा मौका पाए पनि फिटनेट टेष्टमा पास नभएकाले उनले खेल्ने मौका पाएका थिएनन् ।

श्रीलंका भ्रमणका क्रममा भने तेवटियाले मौका पाउन सक्छन् । आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेकै कारण उनले भारतीय टिममा पनि मौका पाएका हुन् ।

Loading...