IPL : यी ५ स्टार क्रिकेटर, अनुबन्ध भए तर डेब्यू गर्न पाएनन्

काठमाडौं- आईपीएल वर्तमान समयमा विश्वको सर्वाधिक लोकप्रिय टी-२० क्रिकेट लिग हो । यो लिगमा भाग लिनु अहिले क्रिकेटरका लागि सपना नै बनेको छ ।

आईपीएलमा भाग लिने धेरै खेलाडीले नामसँगै दाम पनि कमाएका छन् । आईपीएल अनुबन्ध हुने धेरै खेलाडीले पहिलो सिजनमै डेब्यू गरेका उदाहरण प्रशस्त छन् ।

केही खेलाडीले भने सिजन अवधिभर पनि प्लेइङ-११ मा मौका पाउँदैनन् । यसैबीच, आज पहिलो सिजनमा प्लेइङ ११ मा मौका नपाउने पाँच चर्चित खेलाडीको चर्चा गर्दैछौँ :

१. जोस हेजलवुड (मुम्बई इण्डियन्स) : अष्ट्रेलियाका तीव्र गतिका जोस हेजलवुड वर्तमान समयका चर्चित बलर मध्येका एक हुन् । उनी आफ्नो सटिक लाइनमा बलिङ गर्नको लागि परिचित छन् ।

जोस अष्ट्रेलियाका सफल बलर मध्येका एक हुन् । उनले अष्ट्रेलियाका लागि अन्तर्राष्टिय क्रिकेटको तीनै प्रारूपमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

हेजलवुड आईपीएलमा २०१४ को सिजनमा मुम्बई इण्डियन्सका हिस्सा रहेका थिए । त्यतिबेला मुम्बईमा लसिथ मलिंगा र मर्चेन्ट डी जस्था चर्चित बलर थिए ।

हेजलउडले आफ्नो पहिलो सिजनको एक म्याच पनि प्लेइङ-११ मा मौका पाउन सकेनन् ।

२. ब्रेण्डन टेलर (सनराइजर्स हैदराबाद) : ब्रेण्डन टेलर जिम्बाब्वे क्रिकेट टिमका सफल ब्याट्सम्यानमध्येका एक हुन् । उनले आक्रामक ब्याटिङ र विकेटकीपिङमा आफ्नो देशका लागि महत्वपूर्ण योगदान दिएका छन् ।

टेलर २०१४ को आईपीएल सिजनमा सनराइजर्स हैदराबादमा अनुबन्ध भएका थिए । तर, उनले सो सिजनमा एक म्याचमा पनि प्लेइङ-११ मा मौका पाउन सकेनन् ।

हैदराबादमा डारेन स्यामी, डेविड वार्नर र आरोन फिन्च जस्ता ब्याट्सम्यान भएकाले पनि टेलरले प्लेइङ ११ मा मौका पाउन सकेनन् ।

३. जस्टिन लैंगर (राजस्थान रोयल्स) : अष्ट्रेलिया क्रिकेट टिमका वर्तमान प्रमुख प्रशिक्षक तथा पूर्वखेलाडी जस्टिन लैंगरको नाम पनि यो सूचीमा छ । उनी एक समयका अष्ट्रेलिया टिमका उत्कृष्ट ब्याट्सम्यान मध्येका एक हुन् ।

जस्टिनले अष्ट्रेलियाका लागि १ सयभन्दा बढी टेष्ट म्याच खेलेका छन् । उनले आफ्नो टेष्ट क्रिकेटमा ७ हजार ६ सय ९६ रन बनाएका छन् ।

जस्टिन आईपीएलको पहिलो सिजन (सन् २००८) मा राजस्थान रोयल्सका हिस्सा रहेका थिए । तर, त्यो सिजनमा राजस्थानमा शेन वाट्सन, कमरन अकमल जस्ता विस्फोटक ब्याट्सम्यान भएकाले जस्टिनले एक म्याचमा पनि खेल्ने मौका पाएनन् ।

४. स्टिभ स्मिथ (आरसीबी) : अष्ट्रेलियाका स्टिभ स्मिथ वर्तमान समयका चर्चित ब्याट्सम्यान मध्येका एक हुन् ।

उनले आफ्नो अन्तर्राष्ट्रिय करियरको सुरुवात एक अलराण्डरको रूपमा गरेका थिए ।

स्मिथ सन् २०१० मा आरसीबीका हिस्सा थिए । तर, आरसीबीको टिममा डेन स्टेन र ज्याक कालिस जस्ता चर्चित विदेशी खेलाडी भएकाले स्मिथले एक म्याचमा पनि मौका पाउन सकेनन् ।

५. निकोलश पूरन (मुम्बई इण्डियन्स) : वेष्ट इण्डिज क्रिकेट टिमका विस्फोटक युवा ब्याट्सम्यान निकोलश पूरन वर्तमान समयका चर्चित खेलाडी हुन् ।

उनले सन् २०१९ मा पञ्जाब किंग्सका लागि आईपीएल डेब्यू गरेका थिए ।

सबैलाई यो कुरा थाहा नहुन सक्छ पूरन आईपीएल २०१७ को सिजनमा मुम्बई इण्डियन्सका हिस्सासमेत थिए । तर, सो सिजनमा उनले एक म्याचमा पनि अवसर पाएनन् ।

सो सिजनमा मुम्बईले उपाधि जितेको थियो । टिमले ट्रफी जित्दा पूरन भने फानलसम्म बेन्चमै सीमित भए ।

Loading...