स्टोक्स र पाण्ड्यामध्ये को उत्कृष्ट अलराउन्डर? यस्तो छ दुवैको आँकडा

काठमाडौं- वर्तमान समयमा इंग्ल्याण्डका बेन स्टोक्स र भारतीय टिमका हार्दिक पाण्ड्या चर्चित अलराउन्डरको रूपमा चिनिन्छन् ।

दुवै खेलाडी आफ्ना टिमका महत्वपूर्ण खेलाडी हुन् । र, यी दुवै खेलाडीमाथि टिमले धेरै भरोसा पनि गरेको हुन्छ ।

स्टोक्स लगातार इंग्ल्याण्डका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पाण्ड्याले पनि भारतका लागि महत्वपूर्ण योगदान दिइरहेका छन् । धेरै समयदेखि चर्चा भइरहेको छ कि यी दुवै अलराण्डरमध्ये को उत्कृष्ट?

तीनै प्रारूपमा यी दुवै खेलाडीको एकआपसमा तुलना गर्‍यो भने टेष्ट र वानडेमा स्टोक्सको आँकडा धेरै राम्रो छ । त्यस्तै, टी-२० यी दुवै खेलाडीको आँकडा हेर्‍यो भने पाण्ड्या अगाडि रहेका छन् ।

स्टोक्स र पाण्ड्या आफू एक्लैले आफ्नो टिमलाई जित दिलाउन सक्ने क्षमता भएका खेलाडी हुन् । स्टोक्सले इंग्ल्याण्डलाई आफ्नो अलराण्डरको प्रदर्शनले सन् २०१९ को विश्वकप जिताएका थिए ।

हार्दिकको अन्तर्राष्ट्रिय क्रिकेट करियरको सुरुवात भएको पाँच/छ वर्ष मात्र भएको छ । स्टोक्स भने पहिलेदेखि नै अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छन् ।

हार्दिकभन्दा स्टोक्स बढी अनुभवी खेलाडी हुन् ।

हार्दिकले टेष्ट र वानडेमा मौका पाएको म्याचमा स्टोक्सको जसरी फाइदा उठाउन सकेका छैनन् ।

हार्दिक जसरी आईपीएलमा मुम्बई इण्डियन्सका लागि प्रदर्शन गर्छन् त्यसरी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रदर्शन गर्न सकेका छैनन् ।

उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङमा एकदमै राम्रो प्रदर्शन गरे पनि ब्याटिङ भने अझैँ उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् ।

खासगरी पाण्ड्याले आफनो टेष्ट क्रिकेटमा बढी ब्याटिङमा ध्यान दिनु पर्ने देखिएको छ ।

स्टोक्स इंग्ल्याण्डका वर्तमान समयका प्रमुख खेलाडी मध्येका एक हुन् । उनले केही समयदेखि इंग्ल्याण्डका लागि बलिङ र ब्याटिङबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

स्टोक्स इंग्ल्याण्डका लागि कुनै पनि नम्बरमा ब्याटिङ गर्छन् । हार्दिक पाण्ड्यासँग तुलना गर्दा स्टोक्स धेरै अगाडि रहेका छन् ।

वर्तमान समयमा स्टोक्स एकदिवसीय र टेष्ट वरियतामा दोस्रो स्थामना छन् । तर, पाण्ड्या भने अहिले वरियताको टप-१० मा पनि छैनन् ।

हालसम्म स्टोक्सले ९८ एकदिवसीय, ७१ टेष्ट र ३४ टी-२० म्याच खेलेका छन् । उनले टेष्टमा ४ हजार ६३१ रन बनाउँदा १६५ विकेट लिएका छन् ।

उनले टेष्टमा २४ अर्धशतक र १० शतक बनाएका छन् ।

त्यस्तै, २९ वर्षीय स्टोक्सले ९८ एकदिवसीय म्याचको ८४ पारीमा २ हजार ८१७ रनका साथै ७४ विकेट लिएका छन् । वानडेमा उनले २१ अर्धशतक र तीन शतक बनाएका छन् ।

स्टोक्सले टी-२० मा २८ पारीमा ४ सय ४२ रनका साथै १९ विकेट लिएका छन् । उनले हालसम्म यो प्रारूपमा अर्धशतक बनाउन सकेका छैनन् ।

२७ वर्षीय हार्दिकले हालसम्म ६० वानडेको ४४ पारीमा सात अर्धशतकको मद्दतमा १ हजार २ सय ६७ रन बनाएका छन् ।

वानडेमा उनले ५५ इनिङ्समा ५५ विकेट लिएका छन् ।

पाण्ड्याले ११ टेष्टको १८ पारीमा एक शतक र चार अर्धशतकसहित ५३२ रन बनाएका छन् । उनले टेष्टमा १७ विकेट लिएका छन् ।

हार्दिकले ४८ टी-२० को ३२ पारीमा ४ सय ७४ रन बनाएका छन् । उनले पनि टी–२० हालसम्म अर्धशतक बनाउन सकेका छैनन् ।

यो प्रारूपमा पाण्ड्याले ४१ विकेट लिएका छन् ।

Loading...