यी ४ चर्चित क्रिकेटर : जो धोनीपछि चेन्नईको कप्तान बन्न सक्छन्

काठमाडौं- चेन्नई सुपर किंग्स (सीएसके) आईपीएलको दोस्रो सफल टिम हो । उसले हालसम्म तीन पटक आईपीएल ट्रफी हात पारेको छ ।

हालसम्म चेन्नईले महेन्द्रसिंह धोनीको कप्तानीमा आईपीएल उपाधि हात पार्दै आएको छ । तर, बढ्दो उमेरका कारण धोनी अब बढीमा एक सिजन मात्र कप्तानको रूपमा चेन्नईसँग जोडिने सम्भावना छ ।

धोनीले छोडेपछि चेन्नईको आगामी कप्तान को? यो प्रश्नको सही जवाफ त अहिले दिन गाह्रो छ । तर, केही अनुमान भने लगाउन सकिन्छ ।

१. रवीन्द्र जडेजा : चेन्नईका सर्वाधिक सफल खेलाडीमध्ये एक अलराउन्डर रवीन्द्र जडेजा पनि चेन्नईको कप्तान बन्न सक्छन् ।

उनी चेन्नईलाई अलराउन्डरको भूमिका महत्वपूर्ण योगदान दिइरहेका छन् ।

हरेक सिजनमा शानदार प्रदर्शन गर्दै आएका जडेजा टिम कप्तान बन्न सक्छन् । लामो समयसम्म धोनीसँगै रहेकाले जडेजाले कप्तानी गर्ने तरिका पनि थाहा पाइसकेका छन् ।

हालसम्म जडेजाले आईपीएलमा १९१ म्याचको १३२ पारीमा दुई अर्धशतकसहित २ हजार २९० रन बनाएका छन् ।

त्यस्तै, उनले १९१ म्याचमा १२० विकेट पनि लिएका छन् ।

जडेजाले धेरै पटक फिल्डिङबाट टिमलाई महत्वपूर्ण जित दिलाइसकेका छन् । हरेक विधामार्फत् उत्कृष्ट प्रदर्शन गर्ने उनलाई धोनीपछि चेन्नईले कप्तान बनाउन सक्छन् ।

२. ऋतुराज गायकवाड : चेन्नईले भविष्यलाई हेरेर कप्तान बनाउन चाहन्छ भने एक नजर युवा ब्याट्सम्यान ऋतुराज गायकवाडतिर पनि लगाउन सक्छ ।

उनले गत र यो सिजनमा चेन्नईका लागि उत्कृष्ट प्रदर्शन गरे ।

भारतीय टिमका पूर्वखेलाडी वीरेन्द्र सहवागले पनि गायकवाड आगामी दिनमा चेन्नईको कप्तान बन्न सक्ने बताइसकेका छन् ।

लगातार उत्कृष्ट प्रदर्शन गरे उनी चेन्नईको कप्तान बन्ने सम्भावना बढी छ ।

२४ वर्षीय गायकवाडले हालसम्म आईपीएलमा १३ म्याचको ११ इनिङ्समा ४ सय रन बनाएका छन् । त्यसक्रममा उनले पाँच अर्धशतक हिर्काइसकेका छन् ।

३. सुरेश रैना : सुरेश रैना हाल चेन्नईका उपकप्तान पनि हुन् । धोनीको अनुपस्थितिमा उनले टिमको कप्तानी गर्दै आएका छन् ।

रैना अझै केही सिजन आईपीएल खेल्ने सम्भावना छ । यदि छिट्टै आईपीएलबाट संन्यास नलिए केही संस्करणमा उनले चेन्नईको कप्तानी गर्न सक्छन् ।

रैना आईपीएलका सर्वाधिक सफल खेलाडी मध्ये एक हुन् । उनको महत्वपूर्ण प्रदर्शनमा चेन्नईले कयौँ पटक जितेको छ ।

रैनाले हालसम्म आईपीएलमा २ सय म्याचको १७१ इनिङ्स खेलेका छन् । जसमा उनले ३९ अर्धशतक र एक शतकसहित ५ हजार ४ सय ९१ रन बनाएका छन् ।

४. फाफ डुप्लेसिस : दक्षिण अफ्रिका टिमका पूर्वकप्तान फाफ डुप्लेसिस पनि सीएसकेबाटै आईपीएल खेल्छन् । उनले चेन्नईले तीन पटक उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका छन् ।

द. अफ्रिकालाई विश्वकप जिताउन नसके पनि फाफ टिमका सफल कप्तानमध्ये एक हुन् । उनले हालसम्म आईपीएलमा ८२ पारीमा २ हजार ६२२ रन बनाएका छन् । त्यसमा फाफले २० अर्धशतक बनाएका छन् ।

हालसम्म ९ सिजन आईपीएल खेलेका उनले ६ सिजनमा ३ सयभन्दा बढी रन बनाएका छन् ।

लगातार टिमका लागि रन बनाइरहेका फाफलाई धोनीपछि केही सिजनसम्म कप्तान बनाउन सक्छ ।

Loading...