यसरी बनेको थियो नेपालको पहिलो क्रिकेट टिम, कस्तो रह्यो डेब्यू म्याच?

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेटमा दुई दशक इतिहास बनाएको नेपाली क्रिकेट अहिले धेरै चर्चामा छ ।

नेपालकै युवा स्टार क्रिकेटर सन्दीप लामिछानले विश्वका चर्चित टी-२० फ्रेन्चाइज लिगहरु खेलेर नेपालको नामलाई समेत चर्चित बनाएका छन् । अहिले नेपालमा फुटबलपछि क्रिकेट धेरै लोकप्रिय खेलको रूपमा रहेको छ भने कर्पोरेट हाउसहरूले समेत लगानी गर्न थालेका छन् ।

नेपालमा मात्र पनि तीन वटा टी-२० लिगहरु भइसके । तर, नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ विगत तीन वर्षयता आइसीसीको निलम्वनमा रहेका कारण नेपालले भौतिक पूर्वाधार र घरेलु प्रतियोगिताहरुमा भने अपेक्षा अनुसार सुधार गर्न सकेको छैन ।

नेपालले सन् १९९६ मा पहिलो आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको थियो । त्यो खेलेको टिम नै नेपालको पहिलो आधरिकारिक राष्ट्रिय टिम थियो । अनि त्यसै टिममा रहेका थिए लेख बहादुर (एलबी) क्षेत्री। र उनै क्षेत्रीले आफ्नो संस्मराणात्मक पुस्तक एलबी क्षेत्री : कप्तान १९९८ तयार पारेका छन् ।

पहिलो टिमको उपकप्तान हरेका उनी १९९८ मा कप्तान बनेका थिए ।

नेपालको पहिलो टिमको छनोट, टिम र डेब्यु खेल कस्तो थियो? एलबी क्षेत्रीकै शब्दमा:

पहिलो राष्ट्रिय टोलीको छनोट

वीरगन्जको १२औँ जय ट्रफी किन पनि महत्वपूर्ण थियो भने यसै प्रतियोगिताबाट नेपाली राष्ट्रिय टिम तयारी हुँदै थियो। त्यो पनि आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि। एसियाली क्रिकेट परिषद् (एसिसी) ले टेस्ट मान्यता नपाएका एसियाली राष्ट्रहरुबीच भाइचारा बढाउनुका साथै क्रिकेटको विकास गर्ने उद्देश्यले पहिलोपटक एसीसी ट्रफी सुरू गर्दै थियो। प्रथम एसीसी च्याम्पियनसिप मलेसियामा गर्ने तय भएको थियो।

नेपाल क्रिकेट संघ (क्यान) लाई राष्ट्रिय टिम तयार गर्नैपर्ने थियो। तसर्थ, जय ट्रफीमा उच्च प्रदर्शनका आधारमा २४ जनालाई प्रारम्भिक छनोट गरियो। बाँकेबाट गणेशबाहुदर शाही र म छानियौँ। हामीलाई वीरगन्जमै बन्द प्रशिक्षणका लागि बोलाइयो। माइस्थानको धर्मशालामा बस्ने, मेसमा खाने र नारायणी रंगशालामा प्रशिक्षण तथा अभ्यास गर्ने तालिका तयार थियो। कंक्रिट पिच थियो।

राजु खड्का

म्याटमा अभ्यास गराइयो। बन्द प्रशिक्षणका लागि भारतका वीरेन्द्र भटनगर र पाकिस्तानका फारुक जामानलाई प्रशिक्षकको रुपमा ल्याइएको थियो। उनीहरूसँगै नेपाली प्रशिक्षकहरू अरुण अर्याल र सुनोज भट्टराईको निगरानीमा बन्द प्रशिक्षण चल्यो। वीरगन्जको चर्को गर्मीमा एक महिना बन्द प्रशिक्षण गर्नु निकै कठिन थियो। बिहान-बेलुका दौडने र अभ्यास गर्ने गर्थ्यौ। तापक्रम ४२ डिग्री नाघेको थियो। एक महिने बन्द प्रशिक्षणमा छाला डढेर म झन् कालो भएको थिएँ।

म प्रदर्शनबाट सन्तुष्ट थिएँ। त्यसैले टिममा पर्ने आत्मविश्वास पलाएको थियो। नेपालबाट पहिलोपटक राष्ट्रिय प्रतियोगिता खेलिरहेको हुँदा छनोट प्रकिया के-केस्तो होला भन्ने संशय भने मनमा थियो। किनभने खेलाडी छनोटमा भारतको पनि भनसुन चल्थ्यो। वीरगन्ज छनोटमा त्यस्तो हुने सम्भावना कमै थियो। नभन्दै बन्द प्रशिक्षणपछि छनोट हुने १८ जनामा बाँकेबाट म र गणेश अटाएका थियौं। राष्ट्रिय टिम घोषणा गर्न अझै ४ जना खेलाडी हट्न बाँकी नै थियो। मैले मिहिनेत, लगनशीलता र अनुशासनमा कहीँकतै कमी आउन दिएको थिइनँ। त्यसैले १४ सदस्यीय राष्ट्रिय टिममा गणेश र म पनि पर्यौं। यसले बङ्गालमा हराएको मेरो क्रिकेट खुसी फर्किएझैँ लाग्यो।

मेरा दुई सपना थिए, पहिलो अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल्ने। दोस्रो, त्यो पनि नेपालको राष्ट्रिय टिमबाट। भारतमै बसेर सपना देखेको खेलाडी आफ्नै दशको राष्ट्रिय टिमको जर्सीमा खेल्न पाउनु कम्ती गर्वको विषय थिएन। साँच्चै त्यो जीवनकै ठूलो खुसी थियो।

प्रथम एसीसी १९९६ मलेसिया

वीरगन्जको एक महिने बन्द प्रशिक्षणपछि म कोहलपुर फर्केँ। २२ अगस्ट १९९६ मा क्यान अध्यक्ष जयकुमारनाथ शाहले हस्ताक्षर गरेको फ्याक्स प्राप्त भयो। त्यसमा राष्ट्रिय टिममा छनोट भएका खेलाडीको अन्तिम नामावली थियो। जिम्मेवारी बाँडफाँट गरिएको थियो। फ्याक्स हात पारेपछि खुसीको झन् सीमा रहेन। किनभने मलाई उपकप्तानको जिम्वारी दिइएको थियो। कप्तानमा उत्तम कर्माचार्या छनोट भएका थिए।

सँगै, जिम्मेवारीबोध पनि गरायो। पहिलो राष्ट्रिय टिममा उत्तमकुमार कर्माचार्य (धनुषा) कप्तान, लेखबहादुर क्षेत्री (बाँके) उपकप्तान, मनीषराज पाण्डे (मोरङ), पवन अग्रवाल (बारा), पुकार पन्त (ललितपुर), सञ्जय गुरुङ (रूपन्देही), जगत टमाटा (रूपन्देही), राजु खड्का (रुपन्देही), मुसरफ इजहार (पर्सा), गणेश शाही (बाँके), किरण राणा (काठमाडौं), वसन्त शाही (रूपन्देही), विशाल गुप्ता (बारा) र रितेश बराल (धनुषा) थिए।

चार जनालाई वैकल्पिकमा राखिएको थियो। त्यसमा विकेट किपरको रुपमा शङ्कर राणा, ब्याट्सम्यान सन्दीप श्रेष्ठ, अलराउन्डरका रुपमा सर्वजित पाण्डे र बलरको रुपमा राकेश पन्त थिए। छनोट समितिको संयोजकमा तत्कालीन क्यानका टीबी शाह थिए। उनले लामो समय नेपाली क्रिकेटको सेवा गरे।

प्रथम एसीसी च्याम्पियनसिप ६ देखि १६ सेप्टेम्बरमा मलेसियामा हुँदै थियो। पहिलो दिन नै हम्रो म्याच थियो। त्यसैले ४ सेप्टेम्बरमै हामी उड्यौँ। तत्कालीन क्यानका महासचिव विनयराज पाण्डेको कार्यालयबाटै क्यानको सम्पूर्ण गतिविधि सञ्चालन हुन्थ्यो। पोसाक र जुत्ता हामीले त्यहीँबाट पायौं। क्यानका अध्यक्ष साह, उपाध्यक्ष टीबी साह, महासचिव पाण्डेलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टिमलाई बिदाइ गरे। बिदाइका बेला अध्यक्ष साहले भनेका थिए, ‘ल, राम्रो गरेर फर्किनु ।’

दौरासुरुवाल, कोट र भदागाँउले टोपीमा खेलाडीहरू सजिएका थिए। मेरा लागि राष्ट्रिय पोसाक पहिरिएको त्यो पहिलो अनुभव थियो। त्यसैले फोटो सेसनमा म रमाएको थिएँ। थाइल्यान्ड हुँदै हामी क्वालालम्पुर पुग्यौँ। त्यहाँबाट बसले हामी बस्ने पाँचतारे होटल क्राउन प्रिन्सेस पुर्‍यायो।

मलेसियामा टर्फ र स्ट्रोटर्फमा प्रतियोगिता भएको थियो। प्रतियोगितामा १२ टोलीको सहभागिता थियो। जसलाई २ समूहमा बाँडिएको थियो। एउटा समूहबाट शीर्ष २ देश सेमिफाइनल पुग्थे।

नेपाली क्रिकेटको डेब्यू खेल

नेपालले आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गर्दै थियो। मैले पनि राष्ट्रिय टिम र एसीसी च्याम्पियनसिपमा डेब्यू गर्दै थिएँ। नेपालले क्वालालम्पुरको तेनागा नेसनल स्पोर्ट्स कम्प्लेक्समा बंगलादेशसँग पहिलो खेल ६ सेप्टेम्बरमा खेल्यो। बंगलादेशले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय १३ रन बनायो। हारुन रसिदले ५२ रन बनाएका थिए। मैले र राजु खड्काले २-२ विकेट लियौँ।

नेपालले ३९.२ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाउँदा पानी पर्‍यो। वर्षातले खेल रोकिएपछि फास्ट स्कोरिङ रेटका आधारमा बंगलादेशलाई विजयी घोषणा गरियो।

पहिलो अन्तर्राष्ट्रिय जित

७ सेप्टेम्बरमा नेपालले पेनाङको मैदानमा जापानसँग दोस्रो म्याच खेल्यो। जापान ३३ ओभरमा सबै विकेट गुमाएर ७२ रनमा समेटियो। नेपालका तर्फबाट मैले ६ ओभरमा ८ रन दिएर ३ विकेट लिए। गणेशले ३ वटा स्टम्पिङ र २ वटा क्याच गरेको थियो। जापानका एचमिनामीले सर्वाधिक १७ रन बनाएका थिए।

नेपालले ७३ रनको टार्गेटलाई १५ ओभरमै २ विकेटको क्षतिमा पुरा गर्‍यो। त्यसमा मनीषराज पाण्डेले २७ रनको योगदान गरेका थिए। यो नेपालको पहिलो अन्तर्राष्ट्रिय जित थियो।

……………

सुनिल गावस्कर दङ्ग

नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको देखेपछि क्रिकेटका हस्तीहरू गावस्कर, श्रीकान्त, सिकन्दर वख्तहरूले हिमाली देशमा पनि क्रिकेट खेल्दा रहेछन् भनेर प्रशंसा गरेका थिए। यी हस्तीहरूले नेपाल भनेको हिमाल मात्र भएको देश हो भन्ने बुझेका रहेछन् ।

जबकि, हाम्रो टिमले नै जनाउँथ्यो, नेपालमा हिमालसँगै पहाड र तराई-मधेस पनि छ। यो प्रतियोगितामा समूह बी’बाट युएई र पपुवा न्युगिनी पहिलो र दोस्रो हुँदै सेमिफाइनल पुगेका थिए।

हङकङसँगको म्याचमा एउटा रोचक घटना भयो। हाम्रो टिमका चार खेलाडी गणेश, पवन, पुकार, विशाल र टिम म्यानेजर टीबी शाह शाकाहारी थिए। तर, शाकाहारीका लागि त्यहाँ कुनै व्यवस्था थिएन। श्रीकान्त म्याच रेफ्री थिए, उनी पनि शाकाहारी रहेछन्।

नेपालको ब्याटिङ सकिएर फिल्डिङमा जानुअघि म्याच रेफ्री श्रीकान्तले शाकाहारीहरुलाई खाने व्यवस्था नहुँदासम्म खेल सञ्चालन गरेनन्। उनले भनिदिए, ‘शाकाहारी खेलाडीलाई खाने व्यवस्था नहुँदासम्म म्याच सुरु हुँदैन।’ त्यसले एक घण्टा खेल ढिलो भए पनि शाकाहारी खेलाडीले राम्ररी खान पाए। खेलाडीलाई समयमै खाना खुवाउन नसकेकोमा आयोजकले माफी मागे।

(नेपाली राष्ट्रिय टिमको पहिलो उपकप्तान तथा पूर्वकप्तान एलबी क्षेत्रीको पुस्तक ‘कप्तान १९९८’ को पुस्तक अंश । सार्वजनिक भएको पुस्तकलाई क्रिएटिभ बुक्सले बजारमा ल्याएको हो।)

Loading...