सन्दीपद्वारा कोरोना संक्रमितलाई ३ लाख दिने घोषणा, आर्थिक संकलन गर्न खोले बैंक खाता

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेले कोरोना नियन्त्रण तथा संक्रमितको उपचारका लागि तीन लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत संक्रमितको उपचारका लागि तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

घोषणा गरिएको रकम भने तत्काल हस्तान्तरण गरिने छैन । सो रकम केही दिनपछि हस्तान्तण गरिने टिम सन्दीपले जनाएको छ ।

साथै, सन्दीपले कोरोना संक्रमितको उपचारका लागि सहयोग गर्न भन्दै बैंक खाता पनि खोलेका छन् ।

‘देश/विदेशमा रहनुभएका मेरा सम्पूर्ण शुभ चिन्तकहरूमा हार्दिक अनुरोध गर्दछु । सहयोगका निम्ति आजै मात्र एउटा नयाँ बैंक खाता खोलेको छु र यसमा जम्मा हुने सम्पूर्ण रकम कोभिड सङ्क्रमण रोकथाम, नियन्त्रण एवम् सङ्क्रमितको उपचारका निम्ति उपलब्ध गराउने विश्वास दिलाउन चाहन्छु । सङ्कलन गरिएको रकमको सम्पूर्ण अपडेट ‘ टिम सन्दीप’ ले गर्ने छन् । सहयोगबाट प्राप्त रकम स्थानीय निकायरप्रशासन कार्यालयको रोहवरमा अति प्रभावित क्षेत्र र स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने जानकारी गराउन चाहन्छौँ,’ सन्दीपले फेसबुकमा लेखेका छन् ।

सन्दीपले सहयोगका लागि सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सन्दीप लामिछाने नामको  0170000353CA नम्बरमा पैसा जम्मा गर्न पनि आग्रह गरेका छन् ।

सन्दीपले यस्तो लेखेका छन्

विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९को सङ्क्रमण र यसबाट मृत्यु हुनेको सङ्ख्या नेपालमा तीव्र गतिमा बढेसँगै सारा जनता र सिङ्गो देशले भयावह स्थितिको सामना गर्नुपर्ने निकै कठिन एवम् चुनौतीपूर्ण समय आएको छ । सीमित अस्पताल एवम् भएका अस्पतालमा पनि बेड, आइसियु, भेन्टिलेटर, अक्सिजन सिलिन्डरको अभावका कारण दिनहुँ सयौँ निर्दोष नेपालीले ज्यान गुमाउनु परेको छ । जताततै त्रास नै त्रास छाएको छ ।

करिब ३ करोड जनसङ्ख्या रहेको हाम्रो देश नेपालमा दिनहुँ हजार भन्दा बढी सङ्क्रमित, एवम् सयभन्दा बढीको मृत्यु हुनु निकै दुखद् कुरा हो । अनियन्त्रितजस्तै हुँदै गएको यस विषम परिस्थितिमा तपाईं हामी सबैले दृढ आत्मबलका साथ फेरि एकचोटि नेपाल र नेपाली जनताका निम्ति, हामी सबैका निम्ति , एकजुट भई आपसी सद्भाव र सहकार्यले यस कठिन समयको सामना गर्नु पर्ने बेला आएको छ । हाम्रो एकता, दृढ आत्मबल, सकारात्मक सोच, आपसी सद्भाव र सहकार्यले कोरोना विरुद्धको यो लडाइँ पक्कै पनि जित्न सक्छौँ ।

तसर्थ : यसका निम्ति एकजुट भई आ-आफ्नो तर्फबाट सहयोग गरिदिनुहुन देश विदेशमा रहनुभएका मेरा सम्पूर्ण शुभ चिन्तकहरूमा हार्दिक अनुरोध गर्दछु । सहयोगका निम्ति आजै मात्र एउटा नयाँ बैंक खाता खोलेको छु र यसमा जम्मा हुने सम्पूर्ण रकम कोभिड सङ्क्रमण रोकथाम ,नियन्त्रण एवम् सङ्क्रमितको उपचारका निम्ति उपलब्ध गराउने विश्वास दिलाउन चाहन्छु । सङ्कलन गरिएको रकमको सम्पूर्ण अपडेट ‘टिम सन्दीप’ ले गर्ने छन् । सहयोगबाट प्राप्त रकम स्थानीय निकाय/ प्रशासन कार्यालयको रोहवरमा अति प्रभावित क्षेत्र / स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने जानकारी गराउन चाहन्छौँ ।

Bank Name: Century Commercial Bank Limited

Account Name: Sandeep Lamichhane

Account Number: 0170000353CA

Branch: Putalisadak, Kathmandu

Swift Code: CCBNNPKA

यस अभियानको प्रारम्भ गर्दै ‘टीम सन्दिप’ को तर्फबाट रु ३,००,००० /- ( रु तीन लाख) जम्मा गरिएको छ !

Loading...