नेपालका लागि टी-२० मा सर्वाधिक विकेट लिने ५ बलर

काठमाडौं- नेपालमा अहिले सर्वाधिक लोकप्रिय खेलमध्ये क्रिकेट शीर्ष स्थानमा आउँछ । विगतमा नेपालमा क्रिकेटभन्दा फुटबलको क्रेज बढी थियो । तर, पछिल्लो केही वर्षयता भने नेपालमा फुबटलभन्दा क्रिकेटमा समर्थकको बढी लगाव देखिएको छ ।

तस्बिर : कान्तिपुर

नेपाली खेलाडी विभिन्न विदेशी लिग खेल्न थालेपछि नेपालमा क्रिकेटप्रतिको समर्थकको साथ दिनहुँ बढ्दो क्रममा छ । नेपालले क्रिकेट खेल्न थालेको इतिहास धेरै पुरानो छैन ।

नेपालले सन् १९९६ मा पहिलो आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको थियो । त्यो खेलेको टिम नै नेपालको पहिलो आधरिकारिक राष्ट्रिय टिम थियो ।

२५ वर्षीय क्रिकेट इतिहासमा नेपालले टी-२० विश्वकपमा सहभागिताका साथै एकदिवसीय क्रिकेटको मान्यतासमेत पाइसकेको छ ।

यो बीचमा नेपाली क्रिकेटरले विभिन्न कीर्तिमानसमेत आफ्नो नाममा बनाइसकेका छन् । यसैबीच, आज अन्तर्राष्ट्रिय टी-२० मा नेपालका लागि सर्वाधिक विकेट लिने पाँच बलरको चर्चा गर्दैछौँ :

१. सन्दीप लामिछाने : अन्तर्राष्ट्रिय टी-२० मा नेपालका लागि सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा स्पिनर सन्दीप लामिछानेको नाम आउँछ । उनले २४ म्याचमा ६.८६ को इकोनमीमा सर्वाधिक ४७ विकेट लिएका छन् ।

अन्तर्राष्ट्रिय टी-२० मा सन्दीपको उच्च प्रदर्शन २० रन दिएर चार विकेट लिनु हो । उनले सन् २०१८ मा टी-२० मा आईसीसी-११ बाट खेल्दै वेष्ट इण्डिजविरुद्ध डेब्यू गरेका थिए ।

सन्दीपले साढे दुई वर्षको अवधिमा ४७ विकेट लिएका हुन् । उनले अन्तिम पटक अन्तर्राष्ट्रिय टी-२० म्याच यही वैशाखमा नेदरल्याण्ड्सविरुद्ध खेलेका थिए ।

२. करण केसी : नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्यमध्ये करण यो सूचीको दोस्रो स्थानमा आउँछन् । टिमका लागि अलराउन्ड प्रदर्शन गर्ने उनले हालसम्म ७.३८ को इकोनमीमा ४४ विकेट लिएका छन् ।

करणले सन् २०१५ मा टी-२० मा डेब्यू गरेका थिए । त्यसयता उनले नेपालका लागि ३३ म्याचमा ८२० रन खर्चेर ४४ विकेट लिएका छन् ।

अन्तर्राष्ट्रिय टी-२० मा करणको उच्च बलिङ प्रदर्शन १७ रन दिएर चार विकेट लिनु हो । उनले २०१५ मा नेदरल्याण्ड्सविरुद्ध टी-२० मा डेब्यू गरेका थिए ।

३. सोमपाल कामी : सोमपाल पनि नेपाली टिमका महत्वपूर्ण सदस्यमध्ये एक हुन् । उनले हालसम्म ३३ टी-२० मा ६.८७ को इकोनमीमा ३१ विकेट लिएका छन् ।

सोमपालले नेपालका लागि टी-२० मा सन् २०१४ मा हङकङविरुद्ध डेब्यू गरेका थिए । उनले डेब्यू म्याचमै तीन ओभरमा १३ रन दिएर २ विकेट लिएका थिए ।

फाइल तस्बिर

टी-२० मा सोमपालको उच्च बलिङ प्रदर्शन २३ रन दिएर तीन विकेट लिनु हो । उनले टी-१० लिग र ग्लोबल क्यानडा लिग पनि खेलिसकेका छन् । उनले २०१४ को टी-२० विश्वकपसमेत खेलेका थिए ।

४. बसन्त रेग्मी : नेपाली टिमका अनुभवी स्पिनर बसन्त रेग्मीले हालसम्म नेपालका लागि १८ टी-२० खेलेका छन् । उनले १८ म्याचमा ६.५१ को राम्रो इकोनमीमा २५ विकेट लिएका छन् ।

३४ वर्षीय बसन्तले अन्तर्राष्ट्रिय टी-२० मा सन् २०१४ मा हङकङविरुद्ध डेब्यू गरेका थिए । टी-२० मा उनको उच्च प्रदर्शन चार ओभरमा १६ रन दिएर चार विकेट लिनु हो । बसन्तले पनि २०१४ को विश्वकप खेलेका थिए ।

५. अविनाश बोहरा : नेपाली क्रिकेट टिमका सफल बलरमध्ये अविनाश बोहरा पनि एक हुन् । छोटो समयमै उनले टिमका लागि महत्वपूर्ण योगदान दिइसकेका छन् ।

२३ वर्षीय अविनाशले हालसम्म नेपालका लागि २४ म्याचको २३ इनिङ्स खेलिसकेका छन् । जसमा उनले ६.८० को इकोनमीमा २२ विकेट लिएका छन् । पावरप्ले र डेथ ओभरमा बलिङ गर्ने भए पनि उनको इकोनमी रेट राम्रो छ ।

टी-२० मा अविनाशले २०१९ मा यूएईविरुद्ध डेब्यू गरेका थिए । टी-२० मा उनको उच्च बलिङ प्रदर्शन ३५ रन दिएर चार विकेट लिनु हो ।

Loading...