सँगै खेलेका ऋषभको कुशलले गरे प्रशंसा, सम्झिए २०१६ को विश्वकप

काठमाडौं- नेपालले यू-१९ विश्वकपमा अन्तिम पटक सन् २०१६ मा खेलेको थिए । त्यसयता भने नेपाल विश्वकपमा छनोट हुन सकेको छैन ।

सो विश्वकपमा नेपालले तीन म्याच खेल्दा दुईमा जित र एक खेलमा हारको सामना गरेका थियो । ग्रुप ‘डी’मा रहेको नेपालले न्यूजिल्याण्ड र आयरल्याण्डलाई हराएको थियो ।

भारतविरुद्ध भने नेपाल ७ विकेटले पराजित भएको थियो । सो खेलमा हाल नेपाली राष्ट्रिय टिममा रहेका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र सन्दीप लामिछाने पनि थिए ।

भारतसँगको यू-१९ टिमसँग विश्वकप खेलेका कुशलले हालै घरेलु मैदानमा भएको टी-२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले डेब्यू सिरिजमै चार अर्धशतकसहित सर्वाधिक २७८ रन बनाएका थिए ।

डेब्यू सिरिजमै लगातार तीन अर्धशतक बनाउँदै कुशलले कीर्तिमान पनि बनाए । कीर्तिमानी प्रदर्शनपछि उनी अप्रिल महिनाको ‘आईसीसी प्लेयर अफ द मन्थ’ का लागि पनि मनोनयन भए ।

अवार्ड जित्न नसके पनि कुशलको चर्चा सेलाएको छैन । हालै मात्र एक भारतीय युट्युब च्यानलसँगको कुराकानीमा उनले केही कुरा खुलाएका छन् ।

कुशलले कुराकानीका क्रममा ऋषभ पन्त, इशान किशनसहित सँगै खेलेका अन्य खेलाडीको बारेमा पनि संक्षिप्त बताएका छन् ।

उनले हाल भारतीय टिमका महत्वपूर्ण सदस्य बनेका ऋषभ पन्तबारे बढी नै शब्द खर्च गरे ।

‘ऋषभ पन्त अहिले विश्वकै उत्कृष्ट ब्याट्सम्यानमध्ये एक हुन् । अहिले राम्रो लाग्छ, सँगै खेलेका थियौँ । सो विश्वकपमा मेरो पहिलो बलमै उनले स्वीप शर्ट खेल्दै छक्का हिर्काएका थिए । म छक्क परेको थियो,’ कुशलले भने, ‘पन्तसहित सो विश्वकपमा इशान किशन, आवेश खान, खलिल अहमद, सरफराज खान, वासिङ्टन सुन्दरले पनि खेलेका थिए ।’

कुशलले अगाडि थपे, ‘हाँस्दै… सुन्दरले त मलाई आउट पनि गरेका थिए । भारतविरुद्ध खेल्ने मेरो सपना थियो ।’

भारतसँगको सो खेलमा कुशलले ८ बलमा एक चौकासहित ६ रन बनाएका थिए । त्यसबेला उनी आठौँ नम्बरमा ब्याटिङ गर्ने गर्दथे ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले भारतसँगको सो विश्वकप खेलमा ४८ ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

नेपालका लागि रजवीर सिंहले ३५, सन्दीप सुनारले ३७, प्रेम तामाङले नटआउट २९ र आरिफ शेखले २६ रन बनाएका थिए ।

बाँकी ब्याट्सम्यान भने दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट भएका थिए ।

सो विश्वकपमा नेपालको टिममा राजु रिजाल कप्तान थिए । भारतसँगको उक्त खेलमा दीपेन्द्रसिंह ऐरी १ रनमा रनआउटको सिकार भएका थिए ।

बलिङमा आवेश खानले तीन, वासिङ्टन सुन्दर र मयंक डगरले दुई/दुई विकेट लिएका थिए । नेपालले दिएको १ सय ७० रनको लक्ष्य भारतले १८.१ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

उसका लागि ओपनर ऋषभ पन्तले २४ बलमा ९ चौकार पाँच छक्कासहित ७८ रन बनाए । उनलाई प्रेम तामाङले बोल्ड गरेका थिए ।

त्यस्तै, कप्तान इशान किशनले ४९ बलमा ५२ रन बनाए । उनलाई सन्दीप लामिछानेले क्याच आउट गराएका थिए ।

रिकी भुई सात रनमा आउट हुँदा सरफराज खान २१ र अरमन जाफर ११ रनमा अविजित रहे । बलिङमा प्रेम तामाङले दुई र सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।

Loading...