उपकप्तान ऐरीलाई मनपर्ने दुई क्रिकेटर

काठमाडौं- दीपेन्द्रसिंह ऐरी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्यमध्ये एक हुन् ।

उनी यू-१९ टिमदेखि नै नेपालका लागि राम्रो खेल्ने खेलाडीमध्येमा पर्छन् ।

हाल राष्ट्रिय टिमको उपकप्तानसमेत रहेका ऐरीले राष्ट्रिय टिममा मध्यक्रममा ब्याटिङ गर्छन् । उनले नेपाली क्रिकेट समर्थकमाझ राम्रो पहिचान बनाएका छन् ।

ऐरी तीव्र गतिमा रन बटुल्न सिपालु नेपाली खेलाडीको सूचीमा पनि पर्छन् ।

सिंगलरडबल रनका साथ ब्याटिङ गर्न रचाउने उनले धेरै पटक विस्फोटक ब्याटिङ पनि गरेका छन् ।

यही वर्षको वैशाखमा त्रिकोणात्मक टी-२० सिरिजमा पनि ऐरीले आक्रामक प्रदर्शन गरे । साथै, ऐरीले गत चैतमा भएको मेयर्स कपमा एपीएफ क्लबविरुद्ध १४० रनको पारी खेलेका थिए ।

त्यसक्रममा उनले ६ छक्का र ११ चौका हिर्काएका थिए । ऐरी घरेलु प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबबाट खेल्ने गर्छन् ।

लगातार राम्रो प्रदर्शन गर्दै आएका ऐरीले एक टेलिभिजन कार्यक्रममा आफूलाई मनपर्ने विश्व क्रिकेटका दुई खेलाडीको बारेमा बताएका छन् ।

उनले आफू विश्व क्रिकेटमा महेन्द्रसिंह धोनी र स्टिभ स्मिथको क्रिकेटबाट प्रभावित भएको बताए ।

तपाइलाई मनपर्ने क्रिकेटर को? यो प्रश्नमा ऐरीले भने, ‘मलाई महेन्द्रसिंह धोनी र अष्ट्रेलियाका स्टिभ स्मिथको ब्याटिङ मनपर्छ ।’

ऐरीले हालसम्म नेपालका लागि १० एकदिवसीय र २६ टी-२० म्याच खेलेका छन् । उनले १० ओडीआईमा १६ चौका र ३ छक्काको मद्दतमा १ सय ५९ रन बनाएका छन् ।

फाइल तस्बिर

हालसम्म अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा ऐरीले अर्धशतक बनाउन सकेका छैनन् । यो फर्म्याटमा उनको उच्च स्कोर अविजित ४० रन हो ।

त्यस्तै, अन्तर्राष्ट्रिय टी-२० को २२ पारीमा ऐरीले ३७ चौका र १५ छक्कासहित ४ सय ७७ रन बनाएका छन् ।

यो प्रारूपमा उनको उच्च स्कोर ६० रन हो । उनले एकदिवसीयमा दुई र टी-२० मा एक विकेट पनि लिएका छन् ।

Loading...