नेदरल्याण्ड्सले दियो प्रतिस्पर्धात्मक लक्ष्य, म्याक्सले रचे इतिहास

काठमाडौं- आजदेखि घरेलु मैदानमा सुरू भएको एकदिवसीय सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सले स्कटल्याण्डलाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।

वर्षाका कारण ३३ ओभरमा झारिएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले ३३ ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

उसका लागि म्याक्स ओदाउदले उत्कृष्ट पारी खेले । अर्को एण्डबाट लगातार विकेट पतन भए पनि उनले १०३ बलमा ५ चौकासहित एक छक्कासहित ८२ रन बनाए ।

एकदिवसीय क्रिकेटमा म्याक्सको यो तेस्रो अर्धशतक हो । योसँगै उनले इतिहास रचेका छन् ।

म्याक्स नेदरल्याण्ड्सबाट एकदिवसीय क्रिकेटमा लगातार तीन अर्धशतक बनाउने ब्याट्सम्यान बनेका छन् ।

उनको यो तेस्रो एकदिवसीय म्याच हो ।

म्याक्सले डेब्यूमै जिम्बाब्वेविरुद्ध अविजित ८६ रनको पारी खेलेका थिए । सो खेलमा नेदरल्याण्ड्सले जिम्बाब्वेलाई ७ विकेटले हराएको थियो ।

हालै मात्र नेपालमा भएको त्रिकोणात्मक टी-२० सिरिजमा मलेसियाविरुद्ध म्याक्सले शतकीय पारी खेलेका थिए । सो सिरिजमा शतक बनाउने उनी एक्ला ब्याट्सम्यान थिए ।

त्यस्तै, आज लोथानभ्याक वीकले २४, शकिव जुल्फिकरले १२ र केन कूपरले १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मार्क वाट र गेभिन मेनले सर्वाधिक दुई/दुई विकेट लिए । यी दुई टिमबीचको दोस्रो एकदिवसीय म्याच शुक्रबार हुनेछ ।

नेदरल्याण्ड्स र स्कटल्याण्ड झण्डै ११ वर्षपछि एकदिवसीय सिरिज खेलिरहेका हुन् ।

Loading...