नेदरल्याण्ड्सले स्कटल्याण्डलाई ११ वर्षपछि हरायो, म्याक्सले बनाए कीर्तिमान

काठमाडौं- घरेलु मैदानमा जारी एकदिवसीय सिरिजको पहिलो खेलमा स्कटल्याण्डविरुद्ध नेदरल्याण्ड्स १४ रनले विजयी भएको छ ।

योसँगै दुई खेलको सिरिजमा नेदरल्याण्ड्सले १-० को अग्रता बनाएको छ ।

नेदरल्याण्ड्सले ११ वर्षपछि स्कटल्याण्डलाई हराउन सफल भएको हो । उसले अन्तिम पटक स्कटल्याण्डलाई सन् २०११ मा हराएको थियो । त्यसयता स्कटल्याण्डविरुद्ध नेदरल्याण्ड्स लगातार पराजित हुँदै आएको थियो ।

गएराति भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले ३३ ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो ।

उसका लागि रिची बेरिङटनले ४१, जर्ज मुन्सीले २७, मार्क वाटले १५, कलुम म्याक्लोड, सफ्यान सरीफले १४/१४ र केभिन मेनले अविजित १३ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा भिभियन किंग्माले तीन, पउलभ्यान मेकरमले दुई, आर्यन दत्त र लोगानभ्यान वीकले एक/एक विकेट लिए ।

त्यसअघि, वर्षाका कारण ३३ ओभरमा झारिएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले ३३ ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

उसका लागि म्याक्स ओदाउदले उत्कृष्ट पारी खेले ।

अर्को एण्डबाट लगातार विकेट पतन भए पनि उनले १०३ बलमा ५ चौकासहित एक छक्कासहित ८२ रन बनाए ।

एकदिवसीय क्रिकेटमा म्याक्सको यो तेस्रो अर्धशतक हो । योसँगै उनले इतिहास रचेका छन् ।

म्याक्स नेदरल्याण्ड्सबाट एकदिवसीय क्रिकेटमा लगातार तीन अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् ।

उनको यो तेस्रो एकदिवसीय म्याच हो ।

म्याक्सले डेब्यूमै जिम्बाब्वेविरुद्ध अविजित ८६ रनको पारी खेलेका थिए । सो खेलमा नेदरल्याण्ड्सले जिम्बाब्वेलाई ७ विकेटले हराएको थियो ।

हालै मात्र नेपालमा भएको त्रिकोणात्मक टी-२० सिरिजमा मलेसियाविरुद्ध म्याक्सले शतकीय पारी खेलेका थिए ।

सो सिरिजमा शतक बनाउने उनी एक्ला ब्याट्सम्यान थिए ।

त्यस्तै, लोथानभ्याक वीकले २४, शकिव जुल्फिकरले १२ र केन कूपरले १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मार्क वाट र गेभिन मेनले सर्वाधिक दुई/दुई विकेट लिए । यी दुई टिमबीचको दोस्रो एकदिवसीय म्याच शुक्रबार हुनेछ ।

नेदरल्याण्ड्स र स्कटल्याण्ड झण्डै ११ वर्षपछि एकदिवसीय सिरिज खेलिरहेका हुन् ।

Loading...