को हुन् आरसीबीका पाडिक्कलका क्रिकेट आइडल?

काठमाडौं- रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)बाट आईपीएल खेल्ने ओपनिङ ब्याट्सम्यान देवदत्त पाडिक्कलले आफ्ना क्रिकेट आदर्श अर्थात् आइडलको नाम बताएका छन् ।

तपाइको क्रिकेट आदर्श को हुन्? यो प्रश्नमा २१ वर्षीय पाडिक्कलले भारतीय टिमका पूर्वओपनर गौतम गम्भीरको नाम लिए ।

टाइम्स अफ इण्डियासँगको कुराकानीमा उनले आफू जहिले पनि सबै क्रिकेटरबाट सिक्ने इच्छा राख्ने गरेको बताए । यद्यपि पाडिक्कलले गौतम गम्भीरको क्रिकेट देखेर अझ बढी प्रेरित भएको बताए ।

‘गम्भीरले पनि क्रिकेटबाट भारतलाई महत्वपूर्ण योगदान दिनुभएको छ, उहाँको ब्याटिङ मलाई मन पर्छ । हाल पनि उहाँका भिडियो हेर्छु । गम्भीर मेरो रोल मोडल हुन्,’ पाडिक्कलले भनेका छन् ।

पाडिक्कलले यो सिजनको विजय हजारे ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगितामा शानदार प्रदर्शन गरेका थिए ।

सो प्रतियोगितामा पाडिक्ललले लगातार चार शतक बनाएका थिए । उनले गत वर्ष मात्र आईपीएलमा डेब्यू गरेका थिए ।

डेब्यू सिजनमै पाडिक्लले आरसीबीका लागि सर्वाधिक रन बनाए ।

उनले आईपीएल २०२० मा पाँच अर्धशतकको मद्दतमा १२४.८० को स्ट्राइक रेटमा ४ सय ७३ रन बनाएका थिए ।

आईपीएल २०२१ मा पनि पाडिक्लले ६ म्याच खेल्दा उत्कृष्ट प्रदर्शन गरे । उनले ६ खेलमा एक शतकसहित १९५ रन बनाएका छन् ।

१४औँ सिजनको आईपीएल कोरोनाका कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।

२९ म्याच सकिँदा आईपीएल स्थगित भएको हो । यो अवस्थासम्म अंक तालिकाको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स छ । उसले ९ म्याच खेल्दा दुईमा हार र ६ खेलमा जित हासिल गरेको छ ।

Loading...