नेदरल्याण्ड्सविरुद्ध स्कटल्याण्डको शानदार जित, मुन्सीले खेले करियरमै उत्कृष्ट पारी

काठमाडौं- नेदरल्याण्ड्सँगको एकदिवसीय सिरिजको दोस्रो खेलमा पाहुना टोली स्कटल्याण्ड ६ विकेटले विजयी भएको छ ।

यो जितसँगै स्कटल्याण्डले दुई खेलको सिरिज १-१ को बराबरीमा टुंग्याएको छ ।

पहिलो खेलमा स्कटल्याण्ड १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ७२ रनको लक्ष्य स्कटल्याण्डले ४२.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि जर्ज मुन्सीले उत्कृष्ट पारी खेले । उनले ६ चौका र २ छक्कासहित १ सय बलमा अविजित ७९ रन बनाए ।

एकदिवसीय करियरमै मुन्सीको यो उत्कृष्ट पारी हो । यसअघि यो प्रारूपमा उनको उत्कृष्ट ब्याटिङ प्रदर्शन ६१ रन थियो ।

त्यस्तै, आज ड्यालन बजटले नटआउट ४०, कप्तान कायल कोएट्जरले १७, म्याथ्यू क्रसले १३ र रिची बेरिङटनले १० रनको योगदान दिए ।

बलिङमा भिभियन किंग्माले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ४८।४ ओभरमा सबै विकेट गुमाएर १ सय ७१ रन बनायो ।

उसका लागि स्टक इड्रवासले ५६, स्टिफन माइवर्गले ४०, कप्तान पीटर सिलारले २१, फिलिप बोइसभ्यानले १३ र लोगानभ्यान वीकले १० रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा अलास्डर इभन्स एक्लैले ५ विकेट लिए । उनले ९.४ ओभरमा दुई मेडनसहित ४३ रन दिएर पाँच विकेट लिएका हुन् ।

Loading...