नेपालका लागि सर्वाधिक टी-२० म्याच खेल्ने ५ क्रिकेटर

काठमाडौं- नेपालले अन्तर्राष्ट्रिय स्तरमा क्रिकेट खेल्न थालेको धेरै भएको छैन । नेपालले सन् १९९६ देखि अन्तर्राष्ट्रिय स्तरमा क्रिकेट खेल्न लागेको हो ।

२५ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा केही नेपाली खेलाडीले कीर्तिमानी प्रदर्शनसमेत गरेका छन् ।

वर्तमान समयमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय र टी-२० प्रारूपमा राम्रो प्रदर्शन गरिरहेको छ ।

तस्बिर : कान्तिपुर

पर्याप्त पूर्वाधार अभावका बाबजुद पनि नेपाली खेलाडी राम्रो प्रदर्शन गर्दै टिमलाई थप उचाईमा पुर्‍याउन प्रयासरत छन् । टिममा एकपछि अर्को प्रतिभावान् खेलाडीको प्रवेश भइरहेको छ ।

नेपालमा पनि टिममा स्थान बनाउन खेलाडीबीच तीव्र प्रतिस्पर्धाको वातावरण सिर्जना भइसकेको छ । यो समयसम्म आइपुग्दा नेपालका लागि थुप्रै क्रिकेटरले खेलिसकेका छन् ।

केहीले विश्वकीर्तिमानसमेत बनाएका छन् । यसैबीच, आज हालसम्म नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय टी-२० म्याच खेल्ने पाँच खेलाडीको चर्चा गर्दैछौँ :

१. विनोद भण्डारी : नेपालका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय टी-२० म्याच खेल्ने खेलाडी विनोद भण्डारी हुन् ।

उनले आजसम्म सर्वाधिक ३५ अन्तर्राष्ट्रिय टी-२० म्याच खेलेका छन् । जसमा उनले ३५ म्याचको २७ पारीमा ३ सय १९ रन बनाएका छन् ।

अन्तर्राष्ट्रिय टी-२० मा विनोदको सर्वश्रेष्ठ स्कोर अविजित ५८ रन हो । यो अवस्थासम्म उनले १ सय ९.२४ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका छन् ।

विनोदले आजसम्म आफ्नो अन्तर्राष्ट्रिय टी-२० करियरमा नेपालका लागि दुई अर्धशतक बनाएका छन् । त्यसक्रममा उनले २४ चौका र १२ छक्का प्रहार गरेका छन् ।

२. पारस खड्का : यो सूचीको दोस्रो स्थानमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको नाम आउँछ । उनले आजसम्म नेपालका लागि ३३ टी-२० म्याच खेलेका छन् ।

पारसले ३३ म्याचको ३२ पारीमा सर्वाधिक ७ सय ९९ रन बनाएका छन् । अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा उनको सर्वश्रेष्ठ स्कोर नटआउट १ सय ६ रन हो ।

पारसले नेपालका लागि टी-२० क्रिकेटमा एक शतक चार अर्धशतक बनाएका छन् । उनको स्ट्राइक रेट १ सय २८.४ रहेको छ ।

पारसले आजसम्म यो प्रारूपमा ८२ चौका र २६ छक्का हिर्काएका छन् । उनले २६ पारीमा ८ विकेट पनि लिएका छन् ।

फाइल तस्बिर

३. सोमपाल कामी : नेपालका लागि सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय म्याच खेल्ने खेलाडीको तेस्रो नम्बरमा अलराउन्डर सोमपाल कामीको नाम आउँछ । उनले हालसम्म नेपालका लागि ३३ म्याचको २१ इनिङ्स खेलेका छन् ।

२१ इनिङ्स खेल्दा सोमपालले १७ चौका र ८ छक्कासहित २ सय २१ रन बनाएका छन् । त्यस्तै, उनले ३३ म्याचमा ३१ विकेट लिएका छन् ।

सोमपाल नेपालको तर्फबाट टी-२० मा सर्वाधिक विकेट लिने तेस्रो बलर हुन् ।

४. करण केसी : नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराण्डर करण केसी नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय टी-२० म्याच खेल्ने चौथो खेलाडी हुन् ।

उनले आजसम्म ३३ अन्तर्राष्ट्रिय टी-२० म्याच खेलेका छन् ।

करणले ३३ म्याचको २० पारीमा २ सय २८ रन बनाएका छन् । उनले आजसम्म आफ्नो टी-२० करियरमा अर्धशतक बनाउन सकेका छैनन् ।

करणको टी-२० क्रिकेटमा उच्च स्कोर ४५ रन हो । वर्तमान समयमा यो प्रारूपमा करणको स्ट्राइक रेट १ सय ५२ छ ।

आजसम्म उनले टी-२० क्रिकेटमा ९ चौका र २० छक्का प्रहार गरेका छन् । करणले ३३ म्याचमा ४४ विकेट पनि लिएका छन् ।

५. ज्ञानेन्द्र मल्ल : यो सूचीको पाँचौ स्थानमा नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लको नाम आउँछ ।

उनले आजसम्म नेपालका लागि ३२ अन्तर्राष्ट्रिय टी-२० म्याच खेलेका छन् । जसमा कप्तान मल्लले ३२ म्याचको २९ पारीमा ६ सय ७३ रन बनाएका छन् ।

यो प्रारूपमा उनको उच्च स्कोर १ सय ७ रन हो । उनले आजसम्म नेपालका लागि टी-२० क्रिकेटमा एक शतक र एक अर्धशतक बनाएका छन् ।

कप्तान मल्लको स्ट्राइक रेट १२६.९८ रहेको छ । उनले आजसम्म टी-२० मा ५९ चौका र ३१ छक्का पनि हिर्काएका छन् ।

Loading...