यी हुन् रोहितलाई डर लाग्ने चार विदेशी फास्ट बलर

काठमाडौं- सर्वोत्कृष्ट हुन सजिलो छैन । त्यही स्तरका चुनौतीहरूलाई पन्छाउन सक्नुपर्छ । भारतीय क्रिकेटर रोहित शर्मा सीमित ओभर (टी-२० र एकदिवशीय क्रिकेट) का सर्वोत्कृष्ट ब्याट्सम्यानमध्ये एक हुन् ।

योस्तरसम्म पुग्न उनले विश्वका सर्वोत्कृष्ट बलरहरूको सामना गरेका छन् । ब्याट्सम्यानका लागि टाउको दुखाई बन्ने बलर नै हुन् ।

तर, कतिपय बलर खासगरी फास्ट बलरको हकमा विकेट झर्ला की भन्ने चिन्ता एकातिर हुन्छ भने अर्कोतर्फ उनीहरूको बलिङसामु ब्याट लिएर उभिन सक्नुपर्ने चुनौतीपूर्ण रहन्छ ।

सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका रोहित अहिले सीमित ओभरमा राष्ट्रिय टोलीको उपकप्तान छन् ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकभन्दा बढीपटक दोहोरो शतक बनाउने विश्व कीर्तिमान रोहितको नाममा छ ।

उनले टेस्टमा सात शतक र १२ अर्धशतक तथा एकदिवशीय अन्तर्राष्ट्रियमा २९ शतक र ४३ अर्धशतक बनाएका छन् । टी-२० अन्तर्राष्ट्रियमा पनि उनले चार सतक र २२ अर्धशतक बनाएका छन् ।

यी सफलतामा उनले विश्वका होनाहार बलरको सामना गरेका छन् ।

Photo : Espncricinfo

३४ वर्षीय रोहितले हालसालै आफ्नो क्रिकेट करियरमा निकै डर लागेका बलरहरूका बारेमा बोलेका छन् । उनले चार जना बलरको नाम लिएका छन् जो उनकै शब्दमा बलिङ गर्न नआईदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो ।

रोहितले करियरका सुरुवाती दिनमा अस्ट्रेलियाका ब्रेट लि र दक्षिण अफ्रिकाका डेल स्टेनदेखि निकै डर लाग्ने गरेको बताएका छन् ।

मोहम्मद सामीसँगको इन्स्टग्राम लाइभमा रोहितले अस्ट्रेलियासँगको भ्रमण गर्नुभन्दा अघिल्लो दिन ब्रेट लिकै कारण आफू राम्रोसँग सुत्न नसकेको बताएका छन् । आफ्नो पहिलो विदेश भ्रमणका रूपमा रोहितले सन् २००७ मा अस्ट्रेलियामा खेलेका थिए ।

रोहितले स्टार स्पोर्ट्सको ‘क्रिकेट कनेक्टेड’मा भनेका छन्, ‘एक जना बलर ब्रेट लि हुन् । सन् २००७ मा अस्ट्रेलिया जानुभन्दा अघिल्लो दिन ब्रेट लिका कारण राम्रोसँग सुत्न सकेको थिइन । एक सय ५० किलोमिटर प्रति घण्टा बलिङ गर्न सक्ने ब्रेट लि करियरको उच्च लयमा थिए । कसरी यी बलरलाई खेल्ने होला भनेर सोच्थेँ । म उनका खेलहरू नजिकबाट हेर्थेँ । उनी नियमितरूपमा एक सय ५० देखि १ सय ५५ किलोमिटर प्रतिघण्टा बलिङ गर्थे । त्यस प्रकारको गति भएको बलरलाई लिएर हुने सोचाईले मजस्तो भर्खरको खेलाडीको निन्द्रा पर्न सकेको थिएन ।’

रोहितले ब्रेट लि टोलीमा हुँदा अस्ट्रेलियासँग ७ वटा एकदिवशीय खेल खेलेका छन् । जसमा उनले एक सय ३८ रन मात्र बनाएका थिए ।

यस्तै, पाँच टी-२० अन्तर्राष्ट्रिय खेलमा १६ रन मात्र जोडेका थिए । उनले डेल स्टेनसहितको दक्षिण अफ्रिकासँग ३ टेस्ट, १४ एकदिवशीय र ३ टी-२० खेल खेलेका छन् । यी तीनवटै स्वरूपको क्रिकेटमा रोहितको प्रति पाली औसत ३० रनभन्दा तल छ ।

रोहितले दक्षिण अफ्रिकाका कागिसो रबाडा र अस्ट्रेलियाका जोस हेजलउडदेखि पनि आफूलाई डरलाग्ने बताएका छन् ।

‘हाल टेस्ट क्रिकेटमा म कुनै बलरसँग खेल्नु नपरोस् भन्ने सोध्नुहुन्छ भने उनी जोस हेजलउड हुन् । उनी अनुशासित र लेन्थमा बलिङ गर्छन् । उनी सजिलै खेल्न मिल्ने गरि बल फ्याँक्दैनन् । यसबारे बुझ्न मैले उनीमाथि पर्याप्त अध्ययन गरेको छु,’ रोहितले भनेका छन् ।

रोहितले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २००७ मा आयोजित त्रिकोणात्मक शृंखलामार्फत डेब्यु गरेका थिए । जसमा दक्षिण अफ्रिका र आयरल्यान्ड सहभागी थिए ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक तीन दोहोरो सतक र एकै पालीमा सर्वाधिक रन बनाउने कीर्तिमान रोहितको नाममा छ । उनले इडेन गार्डेनमा आयोजित खेलमा श्रीलंकाविरुद्ध एकै पालीमा २ सय ६४ रन बनाएका थिए ।

उनले श्रीलंकाविरुद्ध दुई पटक र अस्ट्रेलियाविरुद्ध एकपटक दोहोरो शतक बनाएका छन् । सन् २०१९ मा आयोजित एकदिवशीय विश्वकपमा उनले सर्वाधिक रन बनाएका थिए ।

प्रतियोगितामा पाँच शतक बनाएका उनी एउटै विश्वकपमा सर्वाधिक शतक बनाउने कीर्तिमानसमेत रच्न सफल भएका थिए ।

उनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले एकदिवशीय अन्तर्राष्ट्रिय वर्ष क्रिकेटरको अवार्डबाट सम्मानित गरिसकेको छ ।

Loading...