एकैदिन तोडियो विराट र रोहितको कीर्तिमान

काठमाडौं- भारतीय टिमका कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माको कीर्तिमान एकै दिन भंग भएका छन् ।

विराटको कीर्तिमान भारतीय ब्याट्सम्यान सूर्यकुमार यादवले भंग गर्दा रोहितको कीर्तिमान भने  न्यूजिल्याण्डका ब्याट्सम्यान मार्टिन गुप्टिलले तोडेका हुन् ।

सूर्यकुमारले तोडे विराटको कीर्तिमान

भारतीय टिमका ब्याट्सम्यान सूर्यकुमार यादवले भारतीय टिमका कप्तान विराट कोहलीको कीर्तिमान भंग गरेका छन् । यादवले लिस्ट ‘ए’ क्रिकेटमा छिटो शतक बनाउने मामलामा विराटको कीर्तिमान भंग गरेका हुन् ।

विजय हजारे ट्रफीमा मुम्बईबाट खेलिरहेका सूर्यले पुडुचेरीविरुद्ध ५० बलमै शतक बनाए । योसँगै उनले लिस्ट ‘ए’ क्रिकेटमा छिटो शतक लगाउने मामलामा विराटलाई पछि पारेका छन् ।

लिस्ट ‘ए’ क्रिकेटमा विराटले सन् २०१३ मा जयपुरमा अष्ट्रेलियाविरुद्ध ५२ बलमा शतक बनाएका थिए । अब उनीलाई पछि पार्दै यादवले ५० बलमै शतक बनाएका छन् ।

योसँगै लिस्ट ‘ए’ क्रिकेटमा सूर्य छिटो शतक बनाउने दोस्रो भारतीय खेलाडीसमेत बनेका छन् । लिस्ट ‘ए’मा भारतको तर्फबाट सर्वाधिक छिटो शतक बनाउने सूचीको शीर्ष स्थानमा यूसुफ पठान छन् । उनले सन् २०१० मा अहमदाबादमा महाराष्ट्रविरुद्ध ४० बलमै शतक बनाएका थिए ।

सूर्यकुमारले बिहीबार पुडुचेरीविरुद्ध कुल १ सय ३३ रन बनाए । उनले सो पारी खेल्न ५८ बलको सामना गरेका थिए । त्यसक्रममा यादवले २२ चौका र चार छक्का हिर्काएका थिए । उनले शतक बनाएको सो खेलमा कप्तान पृथ्वी शाले दोहोरो शतकीय पारी खेले ।

पृथ्वीले १५२ बलमा ३१ चौका र पाँच छक्काको मद्दतमा अविजित २२७ रन बनाएका थिए । पृथ्वी र सूर्य चम्किँएको सो खेलमा पुडुचेरीविरुद्ध मुम्बई २३३ रनले विजयी भएको थियो ।

गुप्टिलले भंग गरे रोहितको कीर्तिमान

न्यूजिल्याण्ड टिमका ओपनिङ ब्याट्सम्यान मार्टिन गुप्टिलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान गुप्टिलले टी-२० क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान बनाएका हुन् ।

बिहीबार अष्ट्रेलियाविरुद्धको खेलमा आठ छक्का हिर्काउँदै यो उपलब्धि हासिल गरेका हुन् । उनले अष्ट्रेलियासँगको टी-२० सिरिजको दोस्रो खेलमा ५० बलमा ९७ रन बनाएका थिए । त्यसक्रममा उनले ६ चौका र ८ छक्का हिर्काएका थिए ।

योसँगै टी-२० गुप्टिलको छक्काको संख्या १३२ पुगेको छ । यसअघि यो सूचीको शीर्ष स्थानमा भारतीय टिमका ओपनिङ ब्याट्सम्यान रोहित शर्मा थिए ।

सर्वाधिक छक्का हिर्काउने खेलाडीको सूचीको दोस्रो स्थानमा झरेका रोहितले १२७ छक्का प्रहार गरेका छन् ।

टी-२० गुप्टिलले ९६ र रोहितले १०८ म्याच खेलेका छन् । टी-२० मा गुप्टिलले २ शतक र १६ अर्धशतक तथा रोहितले ४ शतक र २१ अर्धशतक बनाएका छन् ।

Loading...