ह्वाटमोरले छाने मनपर्ने प्लेइङ-११, यी खेलाडीलाई दिए मौका

काठमाडौं- नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक डेभ ह्वाटमोरले आफ्नो उत्कृष्ट टेष्ट प्लेइङ-११ छानेका छन् ।

उनले टेष्ट इतिहासको विभिन्न चरणमा खेलेका क्रिकेटरलाई समावेश गर्दै आफ्नो उत्कृष्ट प्लेइङ-११ छानेका हुन् ।

ह्वाटमोरले ओपनिङ ब्याट्सम्यानका रूपमा श्रीलंकाका सनथ जयसूर्या र पाकिस्तानका पूर्वकप्तान अजहर अलिलाई छानेका छन् । जयसूर्या अलराउन्डर खेलाडी हुन् । उनी आफ्नो समयका चर्चित खेलाडीका रूपमा परिचित थिए ।

जयसूर्याले टेष्टमा ११० म्याचमा ३१ अर्धशतक र १४ शतकका साथ ६ हजार ९७३ रन बनाएका छन् । साथै उनले टेष्टमा ९८ विकेट लिएका छन् ।

हालै मात्र टेष्ट टिमको कप्तानबाट हटाइएका पाकिस्तानका अजहर अलिले हालसम्म टेष्टमा ८७ टेष्टमा ३३ अर्धशतक र १८ शतकका साथ ६ हजार ५७९ रन बनाएका छन् । टेष्टमा उनको उच्च स्कोर ३०२ रन हो ।

त्यस्तै, ह्वाटमोरले विकेटकीपरको रूपमा श्रीलंकाका कुमार संगाकारालाई मौका दिएका छन् । संगाकारा श्रीलंकाका महान् क्रिकेटरमध्ये एक हुन् । उनले श्रीलंकाका लागि १३४ टेष्टमा ३८ शतक र ५२ अर्धशतकका साथ १२ हजार ४ सय रन बनाएका छन् ।

ह्वाटमोरले चौथो नम्बरमा अरविन्द डिसिल्भालाई स्थान दिएका छन् । अरविन्दले श्रीलंकाका लागि ३०८ वानडे र ९३ टेष्ट खेलेका थिए । उनले टेष्टमा २० शतक र २२ अर्धशतकका साथ ६ हजार ३६१ रन बनाएका थिए ।

ह्वाटमोरले पाँचौ स्थानमा श्रीलंकाकै महेला जयवद्धनेलाई छानेका छन् । जयबद्धने पनि श्रीलंकाका महान् क्रिकेटर हुन् । उनले १४९ टेष्टमा ५० अर्धशतक र ३४ शतकका साथ ११ हजार ८१४ रन बनाएका छन् ।

ह्वाटमोरले आफ्नो प्लेइङ-११ को कप्तानको रूपमा अष्ट्रेलियान पूर्वक्रिकेटर आलेन बोडरलाई छानेका छन् । बोडरले अष्ट्रेलियाका लागि १५६ टेष्टमा ६३ अर्धशतक र २७ शतकका साथ ११ हजार १७४ रन बनाएका छन् ।

ह्वाटमोरले सातौँ, आठौँ, नवौँ, दशौँ र ११औँ स्थानमा क्रमशः शकिवअल हसन, चामिन्दा वास, रोन्डी हग, मुथैया मुरलीधरण र उमर गुललाई छानेका छन् ।

ह्वाटमोरले भारतीय कुनै पनि खेलाडीलाई आफ्नो प्लेइङ-११ मा स्थान दिएका छैनन् । उनले प्रायः आफूले प्रशिक्षण दिएका देशका टिमका खेलाडीलाई प्लेइङ-११ मा समावेश गरेका छन् ।

ह्वाटमोरले द क्रिकेट मन्थ्लीसँगको कुराकानीमा आफ्नो बेस्ट टेष्ट प्लेइङ-११ छानेका हुन् ।

Loading...