श्रीलंकाविरुद्ध बंगलादेश विजयी

काठमाडौं- बंगलादेशसँगको एकदिवसीय सिरिजको पहिलो खेलमा पाहुना टोली श्रीलंका ३३ रनले पराजित भएको छ ।

बंगलादेशले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय २४ रन मात्र बनाउन सक्यो ।

उसका लागि वानिन्दु हसरंगाले उत्कृष्ट पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ६० बलमा पाँच छक्का र तीन चौकासहित ७४ रन बनाए ।

त्यस्तै, कप्तान कुशल परेराले ३०, कुशल मेन्डिसले २४, इशरु उडाना, धनुष्का गुणथिलकाले २१/२१ र दसुन शनकाले १४ रनको योगदान दिए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मेहदीहसन मिराजले चार, मुस्तफिजुर रहमानले तीन, मोहम्मद सैफउद्दिनले दुई र शाकिव-अल हसनले एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५७ रन बनायो ।

उसका लागि मुश्फिकुर रहीमले ८४, महमूदुल्लाहले ५४, कप्तान तमिम इकबालले ५२, अफिफ होसेनले अविजित २७, शाकिवअल हसनले १५ र मोहम्मद सैफउद्दिनले १३ रन बनाए ।

बलिङमा धनन्जय डिसिल्भाले तीन, दुश्मन्था चमेरा, लक्षण सदाकन र धनुष्का गुणथिलकाले एक/एक विकेट लिए ।

योसँगै तीन खेलको सिरिजमा बंगलादेशले १-० ले अग्रता बनाएको छ । यी दुई टिमबीचको दोस्रो एकदिवसीय खेल मंगलबार हुनेछ ।

Loading...