यसरी पूरा हुन सक्छ नेपालको टेष्ट क्रिकेट खेल्ने सपना

काठमाडौं- क्रिकेटको विश्वव्यापी पहुँच बढाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी-२० विश्वकप क्रिकेटमा २० टोली सहभागी गराउने तयारी थालेको छ ।

आईसीसीले सुरु गरेको छलफलमा विश्वकप टी-२० क्रिकेटको सन् २०२४ को संस्करणदेखि २० टोली सहभागी गराउने प्रस्ताव गरिएको छ ।

प्रतियोगितामा सहभागी २० वटा टिमलाई एउटा समूहमा पाँचवटा टिम रहने गरी ४ वटा समूह बनाएर सुरुवाती चरण खेलाइनेछ ।

महिला क्रिकेटको विश्वव्यापी प्रतियोगितामा यसअघि नै सहभागी हुने टोलीको संख्या वृद्धि गरिएको छ।

आईसीसीले अन्तर्राष्ट्रिय एकदिवसीयको विश्वकपमा समेत सहभागी हुने टोलिको संख्या बढाएर १४ पुर्‍याउने तयारी गरिरहेको छ । हाल १० टोली मात्रै सहभागी हुँदै आएको छ ।

यसअघि अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकपमा १६ टोलीसम्मले प्रतिस्पर्धा गरेको थियो। सन् २००७ को विश्वकप क्रिकेटमा १६ टोलीले प्रतिस्पर्धा गरेको थियो। सन् २०११ र २०१५ मा मा १४ तथा सन् २०१९ को विश्वकपमा १० टोलीले मात्रै सहभागी थिए।

हालैका दिनमा समेत टी–२० र अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकपमा प्रतिस्पर्धा गर्ने टोलीको संख्या बढाउनबारे कार्यकारी परिषद्को बैठकमा छलफल भएको छ।

आईसीसीले ओलम्पिक खेलकुदमा समेत क्रिकेटको सहभागिताबारे सदस्य राष्ट्रको राय मागेको थियो। अधिकांश सदस्य राष्ट्र ओलम्पिकमा क्रिकेटको उपस्थितिबारे सकारात्मक रहेका छन्।

आईसीसी टी–२० र वानडे विश्वमा पनि बढी टिमको सहभागिता गराउनुका साथै यसअघि सञ्चालन हुँदै आएको अन्तर महादेशीय कप फर्काउन तर्फ सकारात्मक देखिएको छ।

आईसीसीले चाँडै नै यो निर्णय लिन नजिक पुगिरहँदा यसले नेपालसँगै धेरै एशोसिएट राष्ट्रहरुको ५० ओभरको विश्वकप खेल्ने र टेष्ट राष्ट्र बन्ने सपना पूरा हुने सम्भावना रहेको छ। यस वर्ष भारतमा आयोजना हुने विश्वकपमा १६ टिमले खेल्ने छन्।

सन् २०२२ मा अष्ट्रेलियामा हुने प्रतियोगितामा पनि त्यही संख्यामा टिमहरू रहने छन् । २०२२ को टी–२० विश्वकपका लागि नेपालले सिधा ग्लोबल क्वालिफायरमा स्थान बनाइसकेको छ ।

साथै आईसीसीले इन्टर कन्टिनेन्टल कपलाई पनि अर्कै नाम दिएर पुनः प्रतियोगिता सुरु गर्ने भएको छ । सबैभन्दा ठूलो निर्णय भने चार दिने क्रिकेटको रुपमा रहेको अन्तर महादेशीय कपको पुनरागमन हुन सक्छ ।

इन्टर कन्टिनेन्टल कप नाम दिइएको प्रतियोगिता एशोसिएट राष्ट्रहरुको लागि प्रथम श्रेणीको क्रिकेटको अनुभव गर्ने आधार रहँदै आएको थियो ।

२०१९ को विश्वकपसँगै यो प्रतियोगिता बन्दा हुँदा एशोसिएट राष्ट्रहरु कसरी टेष्ट राष्ट्र बन्ने भन्ने अन्यौल थियो । आयरल्याण्ड र अफगानिस्तान यही इन्टर कन्टिनेन्टल कपको प्रदर्शनपछि टेष्ट राष्ट्र बनेका थिए।

नेपाल जस्ता एकदिवसीय राष्ट्रको मान्यता पाएका तथा विश्वकप लिग-२ मा खेलिरहेका राष्ट्रहरुलाई टेष्ट राष्ट्र बन्ने लक्ष्य भेटाउन लामो फर्म्याटको आईसीसीको प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्नेछ ।

नेपालले सन् २००५ मा मात्र एकपटक इन्टरकन्टिनेन्टल कप खेलेको थियो । त्यसपछि नेपाल छनोट हुन असफल रहँदै आएको थियो ।

Loading...