यी हुन् ज्ञानेन्द्र मल्लले बनाएका ४ कीर्तिमान

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सन् २०१९ नोभेम्बरदेखि राष्ट्रिय क्रिकेट टोलीका कप्तान छन् ।

उनी दायाँहाते ब्याट्सम्यान हुन् । मार्च २००६ देखि उनले नेपाली राष्ट्रिय क्रिकेटबाट खेल्न सुरू गरेका थिए ।

उनले सन् २०१४ मा बंलादेशमा आयोजना भएको टी-२० विश्वकपबाट अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा डेब्यू गरेका थिए । विश्वकपमा उनले हङकङविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा डेब्यू गरेका हुन् ।

उनले हालसम्म ३२ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सात वर्षको अवधिमा उनले २४.०२ को औसतमा ६ सय ७३ रन बनाएका छन् । यी हुन् उनले नेपालको तर्फबाट टी-२० अन्तर्राष्ट्रियमा बनाएका कीर्तिमान :

१. एकै इनिङ्समा सबैभन्दा बढी बल फेस गर्ने ब्याट्सम्यान : टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै इनिङ्समा सबैभन्दा बढी बल फेस गर्ने ब्याट्सम्यानको कीर्तिमान कप्तान मल्लको नाममा छ ।

मल्लले भुटानविरुद्ध सन् २०१९ मा शतक बनाउने क्रममा ५५ बल खेलेका थिए । जुन अहिलेसम्मकै सर्वाधिक हो ।

दोस्रो धेरै बल सामना गर्ने ब्याट्सम्यान सुवास खकुरेल हुन् ।

उनले टी-२० विश्वकप २०१४ मा अफगानिस्तानविरुद्ध ५६ रन बनाउँदा ५३ बल खेलेका थिए । पारस खड्काले सिंगापुरविरुद्ध १०६ रन बनाउँदा ५२ बल खेलेका थिए ।   

२. एकै इनिङ्समा सर्वाधिक छक्का : कप्तान मल्लको नामा एकै इनिङ्समा सर्वाधिक छक्का हिर्काउने रेकर्ड पनि छ ।

भुटानविरुद्ध २०१९ मा शतक बनाउने क्रममा मल्लले ५५ बलमा ५ चौका र ९ छक्का हिर्काएका थिए ।

यसअघि पारस खड्काले सिंगापुरविरुद्ध शतक बनाउने क्रममा पनि समान ९ छक्का प्रहार गरेका थिए ।

नेपालको लागि टी-२० अन्तर्राष्ट्रियमा पारस र ज्ञानेन्द्र संयुक्त रूपमा एकै इनिङ्समा धेरै अर्थात् ९ छक्का प्रहार गर्ने खेलाडी हुन् ।

३. छिटो अर्धशतक : नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा छिटो अर्धशतक बनाउने रेकर्ड कप्तान मल्लकै नाममा छ। उनले मलेसियाविरुद्ध टी-२० विश्वकप छनौट (एसिया फाइनल) प्रतियोगितामा २० बलमा अर्धशतक बनाए ।

उनी टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि छिटो अर्धशतक बनाउने खेलाडी बने । ५१ रनमा आउट भएका ज्ञानेन्द्रले ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।

यसअघि नेपालका लागि छिटो अर्धशतकको रेकर्ड विनोद भण्डारीको नाममा थियो । विनोदले मलेसियाविरुद्ध नै २५ बलमा अर्धशतक पूरा गरेका थिए ।

नटआउट ५१ रन जोडेका विनोदले ३ चौका र ५ छक्का हिर्काएका थिए । विनोदको रेकर्ड ज्ञानेन्द्रले तोडेका हुन् ।

४. सर्वाधिक व्यक्तिगत रन : नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक व्यक्तिगत रन बनाउने कीर्तिमान मल्लको नाममा छ । सन् २०१९ मा भुटानविरुद्ध दक्षिण एसियाली खेलकुदअन्तर्गतको खेलमा उनले टी-२० अन्तर्राष्ट्रिय करियरकै पहिलो शतक बनाएका थिए ।

उक्त खेलमा उनले १०७ रन बनाएका थिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानले बनाएको यो नै सर्वाधिक व्यक्तिगत रन हो ।

यसअघि पारस खड्काले सिंगापुरविरुद्ध विस्फोटक व्याङिङ गर्दै ५२ बलमा १०६ बनाएका थिए । जुन रेकर्ड मल्लले ३ महिना पछि तोडेका थिए ।

पारसले ७ चौका र ९ छक्का पनि प्रहार गरेका थिए । उक्त खेलमा नेपाल ९ विकेटले विजयी भएको थियो ।

Loading...