पोलार्डको टिममा अनुबन्धपछि के भन्छन् सन्दीप?

काठमाडौं- नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेले आसन्न सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्रीनबागो नाइट राइडर्स (टीकेआर) बाट खेल्ने भएका छन् ।

उनलाई ट्रीनबागोले अनुबन्ध गरेको आज जानकारी दिएको हो ।

जमैका तल्लावाजले रिलिज गरेपछि सन्दीप ट्रीनबागोमा अनुबन्ध भएका हुन् । किरण पोलार्ड नेतृत्वको नाइट राइडर्स गत सिजनको विजेता टिम हो ।

गत वर्ष सन्दीपले ११ खेलमा राम्रो इकोनमीमा १२ विकेट लिएका थिए । नाइट राइडर्समा बलिउड अभिनेता शाहरुख खानको लगानी छ ।

Photo : Bishal, The Photographer

ब्रेण्डन म्याक्कम प्रशिक्षक रहेको टिममा पोलार्डसहित सुनील नारायण, ड्वेन ब्रावो, सिकन्दर राजा, कोलीन मुनरोलगायत नाम चलेका खेलाडी छन् ।

आसन्न संस्करणको सीपीएल अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म हुनेछ । योसँगै सन्दीप सीपीएलका चार टिमसँग जोडिसकेका छन् ।

यसअघि उनले सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्स, जमैका तलावाज र बार्बाडोस टज्ञाइडेन्टसबाट सीपीएल खेलिसकेका छन् ।

(टीकेआर)मा जोडिएपछि के भन्छन् सन्दीप?

सन्दीपले ट्रीन बागो नाइटराइडर्स (टीकेआर)मा जोडिएपछि खुसी व्यक्त गरेका छन् । उनले आफू टीकेआरको हिस्सा हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

‘बिल्कुल नाइटराइडर्स परिवारको हिस्सा हुन पाउँदा रोमाञ्चित महसुस भइरहेको छ । साथै, च्याम्पियन टिम नाइट राइडर्समा जोडिएर खेल्नका लागि तयार छु,’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले जमैका तल्लावाजलाई पनि धन्यवाद दिएका छन् । ‘गत वर्षको अवसरको लागि म जमैका तल्लावाजप्रति आभारी छु,’ सन्दीपले लेखेका छन् ।

Loading...