बंगलादेशले एक खेल अगावै सिरिज जित्यो, मुशफिकुरको कीर्तिमानी प्रदर्शन

काठमाडौं- श्रीलंकासँगको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली बंगलादेश डीएलए मेथडअनुसार १०३ रनले विजयी भएको छ ।

वर्षाका कारण ४० ओभरमा झारिएको खेलमा श्रीलंकाले २ सय ४५ रनको लक्ष्य पाएको थियो । श्रीलंकाले ४० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन मात्र बनाउन सक्यो ।

उसका लागि धनुष्का गुणतिलकाले २४, पथुम निशंकाले २०, कुशल मेन्डिस, इशरु उडानाले अविजित १८, असेन भन्डाराले १५/१५, कप्तान कुशल परेराले १४ र दसुन शनकाले ११ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मुस्तफिजुर रहमान, मेहदीहसन मिराजले तीन/तीन, शाकिवअल हसनले दुई र शोरफुल अश्लमले एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय ४६ रन बनायो ।

उसका लागि विकेटकीपर मुशफिकुर रहीमले शतकीय पारी खेले । उनले १२७ बलमा १० चौकासहित १२५ रन बनाए ।

एकदिवसीय क्रिकेटमा रहीमको यो आठौँ शतक हो । जारी सिरिजको पहिलो खेलमा उनले ८४ रनको पारी खेलेका थिए ।

त्यस्तै, आज महमूदुल्लाहले ४१, लिटन दासले २५, तमिम इकबालले १३, मोहम्मद सैफउद्दिनले ११, अफिफ हुसेन, मोसाद्दिक हुसेन १०/१० रन बनाए ।

बलिङमा लक्षण सदाकनले, दुश्मन्था चमेराले तीन/तीन, इशरु उडानाले दुई र वाविन्दु हसरंगाले एक विकेट लिए ।

योसँगै बंगलादेशले तीन खेलको सिरिज एक खेल अगावै २-० ले जितेको छ । श्रीलंका र बंगलादेशबीचको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३३ रनले हराएको थियो ।

मुशफीकुरले रचे इतिहास

बंगलादेश टिमका विकेटकीपर/ब्याट्सम्यान मुशफीकुर रहीमले इतिहास रचेका छन् ।

उनले एकदिवसीय क्रिकेटमा चार नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक शतक बनाएर इतिहास रचेका हुन् ।

रहीम अब बंगलादेशको तर्फबाट वानडे क्रिकेटमा चार नम्बरमा सर्वाधिक शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् ।

श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा १२५ रनको पारी खेल्दै उनले यो उपलब्धि हासिल गरेका हुन् ।

विश्व वानडे क्रिकेटमा भने चार नम्बरमा सर्वाधिक शतक बनाउने कीर्तिमान न्यूजिल्याण्डका रस टेलरको नाममा छ । उनले यो नम्बरमा ब्याटिङ गर्दै १९ शतक बनाएका छन् ।

त्यस्तै, एबी डिभिलियर्स (१५), अरविन्द डिसिल्भा (१०), महेला जयवद्र्धने ९ शतकका साथ यो सूचीको दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

मुशफिकुर अब यो सूचीको पाँचौ स्थानमा उक्लिएका छन् ।

Loading...