भिसा नपाउँदा समस्यामा सन्दीप, गरे यस्तो आग्रह

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण स्पिनर सन्दीप लामिछाने इंग्ल्याण्डमा हुने भाइटीलिटी टी-२० ब्लास्टका सुरुवाती म्याच गुमाउने भएका छन् ।

नेपालबाट इंग्ल्याण्ड पुग्न ढीला हुने भएका कारण उनले टी-२० ब्लास्टका सुरुवाती म्याच गुमाउने भएका हुन् ।

यो टी–२० प्रतियोगिता जुन ९ देखि सुरू हुँदैछ । तर, सन्दीप भने नेपालमै छन् । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा उनी नेपालमै छन् ।

भोलि (मे २७ तारिख)मा सन्दीप इंग्ल्याण्ड उड्ने तालिका थियो । तर, निर्धारित मितिमा उनी इंग्ल्याण्ड उड्न नपाउने भएका छन् ।

अन्तर्राष्ट्रिय उडान बन्दका साथै भिसा समस्याका कारण पनि सन्दीप समयमै इंग्ल्याण्ड उड्न नसकेका हुन् ।

उनले पटकपटक भीएफएस (भिसा फेसिलीटेसन)सँग सम्पर्क गर्दा पनि स्पष्ट जवाफ नपाएको गुनासो पोखेका छन् ।

‘टी-२० ब्लास्ट र द हन्ड्रेडमा सहभागी हुन जानको लागि यूके भिसा अप्लाई गरेको एक महिनाभन्दा बढी समय भयो,’ सन्दीपले ट्वीट गर्दै लेखेका छन्, ‘मेरो फ्लाइटको दिन नजिकिँदै गइरहेको छ । र, पटक-पटक जानकारीका लागि अफिसमा सम्पर्क गर्दा कहिले पनि स्पष्ट जवाफ आएन ।’

‘मलाई थाहा छ यो कठिन समय हो। हामी खेलाडीहरूले संसारलाई यस कठिन समयमा मनोरञ्जन दिनको लागि आफ्नो काम गरिरहेका छौ। यस विषयमा कुनै सहयोग पाएमा आभारी हुने थिएँ,’ सन्दीपले थप लेखेका छन् ।

यसअघि पनि अमेरिकी दूतावासले समयमै भिसा नदिँदा सन्दीप समस्यामा परेका थिए । २०१९ मा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि अमेरिका हुँदै वेष्ट इण्डिज जाँदा उनले ढीला भिसा पाएका थिए ।

सन्दीपले पहिलो पटक इंग्ल्याण्डको चर्चित भाइटीलिटी टी-२० ब्लास्ट खेल्न लागेका हुन् ।

उनले वर्सेस्टरशायर र्यापिडबाट यो प्रतियोगिता खेल्न लागेका हुन् ।

Loading...