सन्दीपले IPL का बाँकी म्याच खेल्न सक्ने, यी दुई टिम ‘अनुबन्ध’ गर्न इच्छुक

काठमाडौं- आईपीएल २०२१ का बाँकी म्याच यूएईमा हुने पक्का भएको छ । भारतमा कोरोना संक्रमणको दर उच्च रहेकाले आईपीएलका बाँकी म्याच यूएईमा हुने भएका हुन् ।

१४औँ सिजनको आईपीएल २९ म्याच सकिँदा स्थगित भएको थियो । बीसीसीआईले फाइनलसहित ३१ म्याच यूएईमा हुने जनाइसकेको छ ।

यूएईमा हुने आईपीएलका बाँकी म्याचको समयमा केही विदेशी टिमका अन्तर्राष्ट्रिय म्याच छन् । जसकारण विदेशी खेलाडीले आईपीएलका बाँकी खेलमा भाग लिन नपाउने सम्भावना बढेको छ ।

अष्ट्रेलिया, इंग्ल्याण्ड र बंगलादेशका खेलाडीले आईपीएलका बाँकी म्याच गुमाउने सम्भावना बढेको हो । आईपीएलका बाँकी म्याच सेप्टेम्बर-अक्टोबरमा हुने बीसीसीआईले जनाएको छ ।

आईपीएलका बाँकी खेलका लागि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले आफ्ना खेलाडीलाई अनुमति नदिने भएको छ ।

बंगलादेशका अलराउन्डर शाकिव-अल हसन र बलर मुस्तफिजुर रहमान आईपीएल २०२१ मा फरकफरक टिममा छन् ।

शकिव कोलकाता नाइट राइडर्स (केकेआर) र मुस्तफिजुर राजस्थान रोयल्समा अनुबन्ध छन् । जुन १५ सम्म बंगलादेशले घरेलु मैदानमा अष्ट्रेलियासँग टेष्ट खेल्दैछ । त्यसपछि बंगलादेशले खेल्ने प्रतियोगिताको तालिका सार्वजनिक हुन बाँकी छ ।

त्यस्तै, इंग्ल्याण्डले पनि आफ्ना खेलाडीलाई आईपीएलका बाँकी म्याचमा उपलब्ध नगराउने बताइसकेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका कारण इंग्ल्याण्डले आफ्ना खेलाडीलाई आईपीएलका बाँकी म्याचमा उपलब्ध नगराउने बताएको हो ।

इंग्ल्याण्डका जोश बटलर, बेन स्टोक्स, इयोन मोर्गन, जोनी बेयरिस्टो, साम बिलिङ्स, क्रिस वोक्स, क्रिस जोर्डन, जोफ्रा आर्चर, लायम लिभिङस्टोन, जेसन रोय, डेविड मलान, टम करन, साम करनलगायत खेलाडी आईपीएलका विभिन्न टिममा छन् ।

यी खेलाडीमध्ये अधिकांश राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य हुन् ।

इंग्ल्याण्डले सेप्टेम्बर १४ सम्म भारतसँग टेष्ट सिरिज खेल्नेछ । त्यसपछि उसले अक्टोबर १४ र १५ तारिखमा पाकिस्तानसँग दुई खेलको टी-२० सिरिज खेल्नेछ ।

यस्तो अवस्थामा इंग्ल्याण्डका खेलाडी आईपीएलका बाँकी म्याचमा सहभागिता जनाउन मुश्किल हुनेछ ।

त्यस्तै, अष्ट्रेलियाले पनि आफ्ना खेलाडीलाई आईपीएलका बाँकी म्याच खेल्न अनुमति नदिने सम्भावना छ ।

स्टिभ स्मिथ, डेविड वार्नर, प्याट कमिन्स, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, झय रिचडर्सन, एडम जम्पा, रिली मेरिडीथ, बेन कटिङ, नाथनकुल्टर नाइल अष्ट्रेलियाका खेलाडी आईपीएलका विभिन्न टिममा छन् ।

त्यस्तै, क्रिस लिन, मोइसेस हेनरिक्स, केन रिचडर्सन, एन्ड्रयू टाय, डानियल साम्स, ड्यान क्रिस्टियनलगायत पनि आईपीएलका विभिन्न टिममा अनुबन्ध छन् । यीमध्ये धेरै खेलाडी अष्ट्रेलिया टिमका महत्वपूर्ण सदस्य हुन् ।

सन्दीपलाई मिल्न सक्छ अवसर

यूएईमा हुने आईपीएलका बाँकी म्याचमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अवसर पाउने सम्भावना बढेको छ ।

केही महत्वपूर्ण विदेशी स्पिनरले आईपीएलका बाँकी म्याच नखेल्ने भएमा सन्दीपले अवसर पाउने सम्भावना बढेको हो ।

केकेआरका शाकिवअल हसन र आरसीबीका एडम जम्पाको स्थानमा सन्दीपले अवसर पाउन सक्छन् । स्पिनरको स्थानमा स्पिनर भित्र्याउने हो भने सन्दीप उपयुक्त विकल्प हुन् ।

वर्तमान विश्व क्रिकेटमा लामिछाने पनि राम्रो स्पिनरको रूपमा चिनिन्छन् । यसअघि पनि आईपीएल खेलिसकेकाले उनी बाँकी म्याचमा लागि टिमको रोजाई बन्न सक्छन् ।

आईपीएल २०२१ को अक्सनमा सन्दीपले ४० लाख भारु बेस प्राइसका साथ नाम दर्ता गरेका थिए । अक्सनबाट भने उनलाई कुनै पनि टिमले अनुबन्ध गरेनन् ।

तर, आईपीएलका बाँकी म्याचमा धेरै विदेशी खेलाडीले नखेल्ने भएमा फेरि एक पटक सन्दीपले मौका पाउन सक्छन् ।

उनी यसअघि दिल्ली क्यापिटल्समा तीन वर्ष जोडिसकेका छन् । तीन सिजनमा आईपीएल २०२० मा मात्र उनले प्लेइङ-११ मा मौका पाएका थिएनन् ।

Photo : Bishal, The Photographer

सन्दीपले आईपीएलमा ९ म्याच खेलेका छन् । जसमा उनले ८.३४ को इकोनमीमा ११ विकेट लिएका छन् ।

आईपीएलमा सन्दीपको उत्कृष्ट बलिङ ४ ओभरमा ३६ रन दिएर तीन विकेट लिनु हो ।

Loading...