कुन टिमविरुद्ध पन्तको आईपीएल डेब्यू? कस्तो थियो प्रदर्शन?

 

काठमाडौं- ऋषभ पन्त आईपीएलमा दिल्ली क्यापिटल्सका वर्तमान कप्तान हुन् । उनी पछिल्लो समय उत्कृष्ट खेलिरहेका छन् ।

पन्तले ब्याट्सम्यानका रूपमा मात्र होइन । विकेटकीपर र कप्तानको रूपमा पनि धेरैलाई प्रभावित पारेका छन् ।

पन्तको कप्तानीमा आईपीएल २०२१ मा टिमले ८ म्याच खेल्दा राम्रो प्रदर्शन गरेको छ । उनको कप्तानीमा दिल्लीले ८ मध्ये दुई खेलमा मात्र हारको सामना गरेको छ ।

पन्तले हालसम्म आईपीएलमा ७६ म्याच खेलेका छन् । जसमा उनले १४९.८० को उत्कृष्ट स्ट्राइक रेट र २५ को औसतमा २ हजार २ सय ९२ रन बनाएका छन् । यसक्रममा पन्तले १४ अर्धशतक र एक शतक पनि बनाएका छन्।

आईपीएलमा पन्तको हालसम्मकै उच्च स्कोर १२८ रन हो । उनले २०१८ मा सनराइजर्स हैदराबादविरुद्ध १२८ रनको पारी खेलेका थिए ।

पन्तले आफ्नो आईपीएल करियरमा अहिलेसम्म २०८ चौका र १०७ छक्का पनि प्रहार गरेका छन् । विकेटकिपर हुँदा पनि उनको रेकर्ड राम्रो छ । अहिलेसम्म उनले आईपीएलमा ५० क्याच र १५ स्टम्पिङ गरेका छन् ।

डेब्यू म्याचमा पन्तको प्रदर्शन

पन्तले २०१६ सालमा आईपीएल डेब्यू गरेका थिए । उनले दिल्ली डेयरडेविल्स ( हालको दिल्ली क्यापिटल्स) का लागि खेले । अहिले पनि उनी दिल्लीबाटै खेलिरहेका छन् ।

पनतले १७ अप्रिल २०१६ मा गुजरात लायन्सविरुद्ध आईपीएल डेब्यू गरेका थिए । आफ्नो पहिलो खेलमा उनले १७ बलमा २ चौकासँगै २० रनको पारी खेले । यस खेलमा दिल्ली गुजरात लायन्ससँग १ रनले पराजित भएको थियो ।

Loading...