डच टोलीद्वारा आयरल्याण्डलाई मध्यम लक्ष्य, बलरले खेले उत्कृष्ट पारी

काठमाडौं- आईसीसी क्रिकेट वर्ल्ड कप सुपर लिगअन्तर्गतको पहिलो एकदिवसीय खेलमा घरेलु टोली नेदरल्याण्ड्सले आयरल्याण्डलाई १ सय ९६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९५ रन दियो ।

उसका लागि टिमभ्यानडर गुग्टेनले राम्रो पारी खेले । बलरको भूमिकामा खेल्ने उनले आज भने ब्याटिङबाट सर्वाधिक रन बनाए ।

अष्ट्रेलियन मूलका गुग्टेनले ५३ बलमा चार छक्का र एक चौकासहित ४९ रनको पारी खेले । उनले लामो समय अष्ट्रेलियाको घरेलु क्रिकेट खेलेका छन् ।

३० वर्षीय गुग्टेनले होबार्ट हरिकेन्सबाट अष्ट्रेलियाको चर्चित बिग बास लिग (बीबीएल) पनि खेलिसकेका छन् ।

१०२ रन बनाएर सात विकेट गुमाएको अवस्थामा गुग्टेन र लोगानभ्याक वीकले ७२ रनको साझेदारी गरे । वीकले अविजित २९ रन बनाए ।

त्यस्तै, शकिव जुल्फिकर, म्याक्स ओदाउदले २३/२३, बासडी लीडेले २१ र स्टिफन माइबर्गले २० रनको योगदान दिए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा क्रेग योङ, जोश लिटलले तीन/तीन, एन्डी म्याकब्रिन र सिमी सिंहले एक/एक विकेट लिए ।

सन् २०१७ मा भएको आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिपको उपाधि जित्दै नेदरल्याण्ड्स सुपर लिगका लागि छानिएको थियो ।

सुपर लिगमा भाग लिएका १३ वटा टिममध्ये नेदरल्याण्ड्स एक मात्र एसोसिएट टोली हो । १३ वटा टिममध्ये टप-७ मा रहेका टोलीले २०२३ को विश्वकप खेल्न पाउनेछन् ।

भारत भने आयोजक राष्ट्रका हैसियतामा विश्वकपमा छनोट भइसकेको छ ।

नेदरल्याण्ड्स र आयरल्याण्डबीचको दोस्रो म्याच जुन ४ र अन्तिम तथा तेस्रो म्याच जुन ७ तारिखमा हुनेछ ।

Loading...