पीएसएल : सन्दीप जोडिएसँगै यस्तो बन्यो लाहोरको टिम

काठमाडौं- नेपाली क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न आज पाकिस्तान प्रस्थान गरेका छन् । उनी शनिबार बिहान ११ बजे कतार एयरवेजको विमानमार्फत दोहा हुँदै पाकिस्तान प्रस्थान गरेका हुन् ।

सन्दीप लाहोर कलन्दर्सबाट जारी सिजनको पीएसएल खेल्ने भएका हुन् ।

राशिद खान राष्ट्रिय टिमका लागि स्वदेश फर्किएपछि सन्दीप उनको स्थानमा लाहोरमा जोडिएका हुन् ।

सन्दीपले २०१९ को पीएसएलमा लाहोरबाट खेलेका थिए । सो सिजनमा उनले सात खेलमा ११ विकेट लिएका थिए ।

सोही सिजनमा सन्दीपले एक म्याचमा चार ओभरमा १० रन खर्चेर चार विकेट लिएका थिए ।

डेब्यू सिजनमा उत्कृष्ट प्रदर्शनका बाबजुद पनि त्यसयताका दुई संस्करणको ड्राफ्टमा भने सन्दीपलाई कुनै पनि टिमले अनुबन्ध गरेनन् ।

लाहोरले जारी प्रतियोगितामा ३ म्याच खेल्दा दुईमा जित र एक खेलमा हारको सामना गरेको छ । लाहोरले चौथो म्याच आइतबार कराची किंग्सविरुद्ध खेल्दैछ ।

जारी सिजनमा पनि कलन्दर्सको कप्तानी सोहेल अख्तरले गरिरहेका छन् ।

लाहोर कलन्दर्सको पूर्ण टिम : फखर जमान, मोहम्मद हफीज, सोहेल अख्तर (कप्तान), बेन डन्क (विकेटकीपर), सजो डेन्ली, समित पटेल, शाहीन शाह अफ्रिदी, टोम एबेल, आगा सलमान, अहमद डानियाल, दिलवर हुसेन, हरिस रौफ, माज खान, मोहम्मद फैजान, मुहम्मद जैद, सलमान मिर्जा, डेविड विसे, सन्दीप लामिछाने र जीशान अशरफ ।

Loading...