आयरल्याण्डविरुद्ध डच टिमको रोमाञ्चक जित, रच्यो इतिहास

काठमाडौं- आईसीसी वर्ल्ड कप सुपर लिगअन्तर्गत एकदिवसीय सिरिजको पहिलो खेलमा आयरल्याण्डविरुद्ध नेदरल्याण्ड्स एक रनले विजयी भएको छ ।

योसँगै नेदरल्याण्ड्सले इतिहास रचेको छ । उसले वर्ल्ड कप सुपर लिगअन्तर्गत आफ्नो पहिलो खेलमा जित हासिल गर्दै इतिहास रचेको हो ।

सन् २०१७ मा भएको आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिपको उपाधि जित्दै नेदरल्याण्ड्स सुपर लिगका लागि छानिएको थियो ।

सुपर लिगमा भाग लिएका १३ वटा टिममध्ये नेदरल्याण्ड्स एक मात्र एसोसिएट टोली हो । १३ वटा टिममध्ये टप-७ मा रहेका टोलीले २०२३ को विश्वकप खेल्न पाउनेछन् ।

नेदरल्याण्ड्सले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन बनायो ।

उसका लागि ओपनर पउल स्टर्लिङले ११२ बलमा आड चौकासहित ६९ रन बनाए ।

योसँगै स्टर्लिङले नयाँ कीर्तिमान बनाएका छन् । उनले आयरल्याण्डको तर्फबाट वानडेमा सर्वाधिक अर्धशतक बनाउने ब्याट्सम्यानको कीर्तिमान बनाएका हुन् ।

स्टर्लिङले यो प्रारूपमा आफ्नो देशबाट सर्वाधिक २५ अर्धशतक बनाएका छन् ।

त्यस्तै, आज सिमी सिंहले ४५, एन्डी म्याकब्रिनले १७, जर्ज डकरेलले ११ रनको योगदान दिए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा टिमभ्यानडर गुग्टेनले तीन, लोगानभान वीकले दुई, ब्रान्डन ग्लोभर, पीटार सीलार र फ्रेड क्लासेनले एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९५ रन दियो ।

उसका लागि टिमभ्यानडर गुग्टेनले राम्रो पारी खेले । बलरको भूमिकामा खेल्ने उनले आज भने ब्याटिङबाट सर्वाधिक रन बनाए ।

अष्ट्रेलियन मूलका गुग्टेनले ५३ बलमा चार छक्का र एक चौकासहित ४९ रनको पारी खेले । उनले लामो समय अष्ट्रेलियाको घरेलु क्रिकेट खेलेका छन् ।

३० वर्षीय गुग्टेनले होबार्ट हरिकेन्सबाट अष्ट्रेलियाको चर्चित बिग बास लिग (बीबीएल) पनि खेलिसकेका छन् ।

१०२ रन बनाएर सात विकेट गुमाएको अवस्थामा गुग्टेन र लोगानभ्याक वीकले ७२ रनको साझेदारी गरे । वीकले २९ रन बनाए ।

त्यस्तै, शकिव जुल्फिकर, म्याक्स ओदाउदले २३/२३, बासडी लीडेले २१ र स्टिफन माइबर्गले २० रनको योगदान दिए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा क्रेग योङ, जोश लिटलले तीन/तीन, एन्डी म्याकब्रिन र सिमी सिंहले एक/एक विकेट लिए ।

यो जितसँगै तीन खेलको सिरिजमा नेदरल्याण्ड्सले १-० ले अग्रता बनाएको छ । आयरल्याण्ड र नेदरल्याण्ड्सबीचको दोस्रो वानडे म्याच शुक्रबार हुनेछ ।

Loading...