ओलीको ९ वर्ष पुरानो ट्वीट भाइरल, जरिवानासहित प्रतिबन्ध लाग्ने सम्भावना

काठमाडौं- इंग्ल्याण्डका क्रिकेट टिमका तीव्र गतिका बलर ओली रोबिन्सनको पुरानो एक स्टाटस भाइरल भएको छ ।

यो स्टाटसका कारण उनीमाथि प्रतिबन्ध लाग्ने सम्भावनासमेत बढेको छ ।

हिजो (बुधबार) मात्रै टेष्ट क्रिकेटमा डेब्यू गरेका रोबिन्सनमाथि प्रतिबन्ध मात्र नभई जरिवानासमेत लाग्ने सम्भावना छ ।

इंग्ल्याण्ड क्रिकेट बोर्डका प्रमुख टम ह्यारिसनले उनीमाथि जरिवानाका साथै प्रतिबन्ध पनि लाग्न सक्ने बताएका छन् ।

ओलीले ९ वर्षअघि आफ्नो ट्वीटरमा रंगभेद र लैंगिक विभेद हुने किसिमको भनाइ व्यक्त गरेका थिए । सो भनाइ अहिले भाइरल भइरहेको हो । ओलीको सो अभिव्यक्तिको अहिले अनुसन्धान भइरहेको छ ।

रोबिन्सनले ९ वर्षअघि पोस्ट गरेको ट्वीटलाई एक जना फलोअरले री-ट्वीट गरेका छन् । बुधबार न्यूजिल्याण्डसँगको टेष्ट सिरिजको पहिलो खेल चलिरहेका बेला उनको पुरानो ट्वीट भाइरल भइरहेको थियो ।

रोबिन्सनले एशियन मानिस र मुस्लिम व्यक्तिका विषयलाई लिएर ट्वीटरमा आफ्नो भनाई व्यक्त गरेका थिए ।

इंग्ल्याण्ड क्रिकेट बोर्डले लैंगिक र जातीय विभेदमा कुनै प्रकारको विभेद भएको पाइए कडा कारवाहीको प्रावधान बनाएको छ ।

आफ्नो डेब्यू म्याचको पहिलो दिन रोबिन्सनले १६ ओभरमा चार मेडनसहित ५० रन दिएर महत्वपूर्ण दुई विकेट लिएका छन् ।

उनले टम लाथम र रस टेलरको विकेट लिएका हुन् ।

उत्कृष्ट डेब्यूले खुसी भएका रोबिन्सलाई पुरानो विवादास्पद भनाईले भने समस्यामा पार्ने सम्भावना छ ।

Loading...