डेब्यू म्याचमै कीर्तिमानी प्रदर्शन गरेपछि यस्तो भन्छन् कन्वे

काठमाडौं- न्यूजिल्याण्ड टिमका ब्याट्सम्यान डेभन कन्वेले डेब्यू टेष्ट म्याचमै शतक बनाएपछि प्रतिक्रिया दिएका छन् ।

बुधबार इंग्ल्याण्डसँगको टेष्ट सिरिजको पहिलो पारीमै उनले लड्स मैदानमा शतक बनाए ।

कन्वेले शतकपछि खुसी व्यक्त गर्दै आफ्नो काम अझै पूरा नभएको बताए ।

‘यो एकदम राम्रो अनुभूति हो । मलाई यस कुरामा स्थिर रहन समय लाग्नेछ । मेरो काम अहिलेसम्म सम्पन्न भएको छैन । तर, म धेरै खुसी छु,’ शतकपछि कन्वेले भने, ‘केन विलियम्सनसँगको मेरो कुराकानी केही दिन अघि भएको थियो । मैले उहाँलाई सोधे रेकर्ड बनाउँदा कस्तो महसुस हुन्छ । उहाँले मलाई भन्नुभयो- अब तपाईंको पालो हो ।’

इंग्ल्यान्ड र न्यूजिल्याण्डबीचको पहिलो टेष्ट खेल बुधबारबाट लड्समा सुरु भएको छ । पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले मध्यम सुरुवात गर्‍यो ।

‘किवी’ टोलीले ११४ रनमा ३ विकेट गुमाएको थियो । केन विलियम्सन र रस टेलर जस्ता चर्चित ब्याट्सम्यान स्सतैमा पवेलियन फर्किए । त्यसपछि ब्याटिङ सम्मालेका कन्वेले हेनरी निकोल्ससँग मिलेर ठूलो साझेदारी गरे।

 कन्वले रचे इतिहास

न्यूजिल्याण्ड टिमका ब्याट्सम्यान डेभन कन्वेले नयाँ कीर्तिमान बनाएका छन् । उनले लर्ड्सको मैदानमा डेब्यू टेष्टमै सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

योसँगै कन्वेले भारतीय क्रिकेट टिमका पूर्वकप्तान सौरभ गांगुलीको कीर्तिमान भंग गरेका छन् । गांगुलीले लर्ड्समा सन् १९९६ मा टेष्टमा डेब्यू म्याचमा १ सय ३१ रनको पारी खेलेका थिए ।

इंग्ल्याण्डसँगको टेष्ट सिरिजपछि न्यूजिल्याण्डले १८ जुनदेखि २२ जुनसम्म इंग्ल्याण्डमै भारतसँग टेष्ट च्याम्पियन्सको फाइनल म्याच खेल्दैछ ।

Loading...