आरोन फिन्चलाई डर लाग्ने स्पिनर

काठमाडौं- अष्ट्रेलिया क्रिकेट टिमका कप्तान आरोन फिन्च वर्तमान समयमा विश्व क्रिकेटका विस्फोटक ब्याट्सम्यानमध्ये एक हुन् ।

उनले जस्तोसुकै उत्कृष्ट बलरलाई पनि दबाबमा राख्न सक्छन् ।

फिन्च वानडे र टी-२० क्रिकेट बढी खेल्छन् । उनले लामो समययता टेष्ट म्याच खेलेका छैनन् । सन् २०११ मा डेब्यू गरेका फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटमा ७ हजार बढी रन बनाइसकेका छन् ।

आफ्नो कप्तानीमा उनले सन् २०१९ को वानडे विश्वकपमा अष्ट्रेलियालाई सेमिफाइनलसम्म पुर्‍याएका थिए । उनले अन्तिम पटक ७ मार्चमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।

फिन्च पछिल्लो समय विश्राम गरिरहेका छन् ।

यसबीचमा उनले इन्स्टाग्राममा आफ्ना समर्थकसँग कुराकानी गरेका छन् । त्यसक्रममा एक समर्थकले फिन्चलाई प्रश्न गरे ।

प्रश्न थियो तपाइलाई कुन बलरको बल सामना गर्दा गाह्रो लाग्छ?

यो प्रश्नको जवाफमा फिन्चले पाकिस्तानी टिमका पूर्वस्पिनर सइद अजमलको नाम लिए । फिन्चले अनौठो बलिङ याक्सनका कारण अजमलले आफूलाई धेरै पटक समस्या दिएको समेत बताए ।

अजमल कुनै समयमा टेष्ट वरियताको शीर्ष स्थानमा थिए । उनले पाकिस्तानका लागि सन् २००८ देखि २०१५ सम्म ३५ टेष्ट, ११३ वानडे र ६४ टी-२० म्याच खेलेका थिए ।

Loading...