नेदरल्याण्ड्सविरुद्ध आयरल्याण्डको फराकिलो जित

काठमाडौं- आईसीसी वर्ल्ड कप सुपर लिगअन्तर्गत नेदरल्याण्ड्ससँगको एकदिवसीय सिरिजको दोस्रो खेलमा पाहुना टोली आयरल्याण्ड ८ विकेटले विजयी भएको छ ।

नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य आयरल्याण्डले ४३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि पउल स्टर्लिङ र कप्तान एन्डी बलबर्नीले अर्धशतकीय पारी खेले । ओपनर स्टर्लिङले ६४ बलमा ६ चौकासहित ५२ रन बनाए ।

जारी सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो । योसँगै स्टर्लिङले नयाँ कीर्तिमान बनाएका छन् ।

उनले आयरल्याण्डको तर्फबाट वानडे क्रिकेटमा सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान बनाएका हुन् । स्टर्लिङले हालसम्म सर्वाधिक २६ अर्धशतक बनाएका छन् ।

त्यस्तै, कप्तान बलबर्नीले १२७ बलमा ६ चौकासहित अविजित ६३ रन बनाए । ह्यारी टेक्टर ३० रनमा नटआउट रहँदा ओपनर विलियम पोर्टरफिल्ड भने शून्यमै आउट भए ।

बलिङमा पिटर सीलार र लोगानभान बीकले एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन बनायो ।

उसका लागि म्याक्स ओदाउदले ३६, बासडी लिडे, स्कट एड्रवासले २३/२३, ब्रान्डन ग्लोभरले १८, लोगानभान बीकले अविजित २२, कप्तान पिटर सीलार र स्टीफन माईवर्गले ११/११ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा जोस लिटल, क्रेग योङले चार/चार, एन्डी म्याकब्रिन र ब्यारी म्याकार्थीले एक/एक विकेट लिए ।

यो जितसँगै आयरल्याण्डले तीन खेलको सिरिज १-१ को बराबरी बनाएको छ । यी दुई टिमबीचको अन्तिम तथा निर्णायक म्याच सोमबार हुनेछ ।

Loading...