सन्दीपको स्थानमा र्‍यापिड्सद्वारा नयाँ खेलाडी अनुबन्ध

काठमाडौं- नेपाली क्रिकेट टिमका बलर सन्दीप लामिछानेले इंग्ल्यान्डको ‘भाइटालिटी टी-२० ब्लास्ट’ गुमाउने भएका छन् ।

बेलायतको भिसा समयमै नपाउँदा सन्दीपले पहिलो पटक खेल्न लागेको टी-२० ब्लास्ट गुमाएका हुन् ।

टी-२० ब्लास्ट गुमाए पनि इंग्ल्यान्डकै ‘द हन्ड्रेड’ क्रिकेट खेल्नका लागि भने सन्दीप छिट्टै इंग्ल्याण्ड उड्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

‘भिसा समयमै नआउदा सन्दीपले टी-२० ब्लास्ट नखेल्ने पक्का भएको छ । अब द हन्ड्रेडका लागि जाने तयारी छ । कहाँबाट र कसरी जाने विषयमा एक/दुई दिनमा टुंगो लाग्छ,’ उनले भने ।

Photo : Bishal, The Photographer

सन्दीप टी-२० ब्लास्टमा वर्सेस्टसायर र्‍यापिडमा आबद्ध भएका थिए । टी-२० ब्लास्ट जुन ९ बाट सुरु हुँदैछ।

सन्दीपले डेढ महिनाअघि टी-२० ब्लास्ट र द हन्ड्रेड खेल्नका लागि बेलायतको भिसाका लागि निवेदन दिएका थिए। तर भिसा शुक्रबार मात्र पाएका थिए।

शुक्रबार मात्र भिसा पाउँदा टी-२० ब्लास्टमा जान ढिलाइ भएको हो । नेपालबाट इंग्ल्यान्ड जानका लागि तेस्रो मुलुकमा १४ दिन बिताएपछि मात्र पाइन्छ ।

जसका कारण सन्दीप अझै तीन साता इंग्ल्यान्ड पुग्न लाग्ने भएपछि टी-२० ब्लास्टका सुरुवाती खेल गुमाउने पक्का भएको थियो ।

सुरुवाती खेल गुमाउने भएपछि अब सन्दीपको स्थानमा वर्सेस्टसायर र्‍यापिडले अर्कै खेलाडी राख्नेछ।

टी-२० ब्लास्टको ब्रेकमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबलमा आबद्ध छन् ।

‘द हन्ड्रेड’ जुलाई २२ देखि देखि अगस्ट २१ सम्म हुने तय छ । यो बीचमा राष्ट्रिय टिमको खेल भएमा सन्दीपले हन्ड्रेडका खेल पनि गुमाउन सक्नेछन् ।

सन्दीपको स्थानमा सोधी

र्‍यापिड्सले सन्दीपको स्थानमा न्यूजिल्याण्डका स्पीनर इश सोधीलाई अनुबन्ध गरेको छ ।

सोधीले न्यूजिल्याण्डका लागि न्यूजिल्याण्डका लागि ५७ टी-२०, ३३ वानडे र १७ टेष्ट म्याच खेलेका छन् ।

उनले आईपीएल, बिग बास लिग (बीबीएल), सीपीएलबाट टी-२० लिग खेलिसकेका छन् ।

Loading...